आर्थिक गणनाका लागि मकवानपुरमा ६८ जना जनशक्ति परिचालन हुने
६ चैत्र, हेटौँडा । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि मकवानपुर जिल्लामा ६८ जना जनशक्ति परिचालन गरिने भएको छ ।
आर्थिक गणना कार्यालयका गणना अधिकारी राघिनी वर्माका अनुसार ९ जना सुपरभाइजरसहित ५९ जना गणक खटिनेछन् । स्थानीय तहअनुसार हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी ३२ जना गणक खटिनेछन् भने थाहा नगरपालिका र मनहरी गाउँपालिकामा ५÷५ जना, बकैया गाउँपालिकामा ४ जना, मकवानपुरगढी र बागमती गाउँपालिकामा ३÷३ जना तथा इन्द्रसरोवर र भीमफेदी गाउँपालिकामा २÷२ जना गणक परिचालन गरिनेछ ।
वि.सं २०७५ मा पहिलोपटक सुरु गरिएको आर्थिक गणना दोस्रो पटक हुन लागेको हो । गणनाका लागि हेटौंडा–११ स्थित तथ्यांक समन्वय कार्यालयमा चैत्र ४ गते आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । यसअघि २०७५ सालमा गरिएको गणनाअनुसार मकवानपुरमा १६ हजार प्रतिष्ठान तथा व्यवसाय दर्ता गरिएको थियो, जसमा ४६ हजार ५ सय ८२ जनशक्ति कार्यरत थिए । तीमध्ये ७ हजार ५ सय ९६ मात्र औपचारिक रूपमा दर्ता भएको पाइएको थियो । जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख देवेन्द्र कारञ्जितले संकलित तथ्यांकलाई पूर्ण रूपमा गोप्य राखिने र कुनै पनि व्यक्तिको विवरण प्रमाणका रूपमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो । गणनालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आर्थिक गणना समिति गठन गरिएको छ ।
समितिमा जिल्ला समन्वय समिति समन्वय अधिकारी, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष, उद्योग संघका अध्यक्ष, होटल व्यवसायी संघका अध्यक्ष, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष, चिकित्सक संघका अध्यक्ष, पत्रकार महासंघका अध्यक्ष सदस्य रहने व्यवस्था छ । समितिको शुक्रबार बसेको पहिलो बैठकबाट जिल्लाका सबै १० स्थानीय तहमा पत्राचार गरी संघ–संस्थाको विवरण संकलन गर्ने निर्णय गरेको छ ।
साथै, चैत्रको तेस्रो साता आर्थिक गणनासम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । नाङ्लोमा पसल राख्ने साना व्यवसायदेखि ठूला उद्योग प्रतिष्ठानसम्म सबै प्रकारका औपचारिक तथा अनौपचारिक आर्थिक क्रियाकलापलाई समेट्ने गरी गणना गरिनेछ । कुनै पनि वडामा दर्ता भएका वा नभएका, आर्थिक कारोबार गर्ने सबै प्रकारका व्यवसायको विवरण संकलन गरिने बताइएको छ । आर्थिक गणनाको उद्देश्य देशभर सञ्चालनमा रहेका आर्थिक गतिविधिको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्नुका साथै कुल गार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखा प्रणालीलाई सुदृढ बनाउन आवश्यक तथ्यांक उत्पादन गर्नु रहेको छ ।













