बागमतीमा मानव अधिकार उल्लंघनका घटना बढ्दै

स्वर्णिम खबर
५ चैत्र २०८२, बिहीबार १९:११

५ चैत्र, हेटौँडा । बागमती प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढ्दै गएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक अनुसार प्रदेशमा सन् २०२५ मा तीन हजार एक सय ९६ जना पीडित भएका छन् । इन्सेकका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा राज्यपक्ष र अन्य पक्षबाट हुने मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएको देखिएको छ । सन् २०२४ मा राज्यपक्षबाट तीन सय १३ र अन्य पक्षबाट एक हजार आठ सय ६४ गरी कुल दुई हजार एक सय ७७ जना पीडित भएका थिए ।
सन् २०२५ मा पीडितमध्ये एक हजार ९५ महिला, दुई हजार ९३ पुरुष, सात जना लैङ्गिक पहिचान नखुलेका र एक जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका रहेका छन् । राज्यपक्षबाट एक हजार नौ सय ६६ जना जसमा १ सय ८५ महिला र १ हजार सात सय ८१ पुरुष पीडित भएका छन् भने अन्य पक्षबाट नौ सय १० महिला र तीत सय १३ पुरुष प्रभावित भएका छन् । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै मानव अधिकार उल्लंघनका घटना भएका छन् ।
यहाँ राज्यपक्षबाट एक हजार आठ सय अन्य पक्षबाट पाँच सय ५५ गरी कुल दुई हजार तीन सय ५५ घटना भएका छन् । त्यस्तै चितवन मा २ सय ४२, ललितपुर मा ९५, काभ्रे मा ९४, सिन्धुपाल्चोक मा ७७, भक्तपुर मा ७६, धादिङ मा ६५, नुवाकोट मा ४७ र मकवानपुरमा ४६ जना पीडित भएका छन् । त्यसैगरी रामेछापमा ३५, सिन्धुलीमा ३४, दोलखामा ३३ र सबैभन्दा कम रसुवामा ८ जना पीडित भएको तथ्यांकले देखाएको छ । यद्यपि, बाल अधिकार र महिला अधिकार हननका घटनामा केही कमी आएको छ । सन् २०२४ मा ५ सय ५७ बालअधिकार हननका घटना रहेकोमा सन् २०२५ मा घटेर २ सय २९ पुगेको छ । त्यस्तै महिला अधिकार हननका घटना १ हजार ७७ बाट घटेर ६ सय २० मा झरेको छ । इन्सेक बागमती प्रदेशका अनुसार जातीय विभेदका तीन वटा घटना दर्ता भएका छन् । साथै, प्रदेशमा ४८ जनाको कारागारमा र एक जनाको हिरासतमा ज्यान गएको छ । यसै वर्ष राज्यपक्षबाट ४४ र अन्य पक्षबाट ५० गरी कुल ९४ जनाको हत्या भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*