मकवानपुरमा ग्यास वितरण प्रणालीलाई सहज बनाउन सरोकारवालाबीच छलफल
२ चैत्र, हेटौँडा । मकवानपुरमा खाना पकाउने ग्यासको वितरण प्रणालीलाई व्यवस्थित र सहज बनाउन सरोकारवालाबीच छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको बैठकमा ग्यासको सहज वितरण र अनुगमनका विषयमा छलफल भएको हो । प्रमुख जिल्ला अधिकारी अधिकारीले व्यवसायीहरूले आपतकालीन अवस्थामा मानवता, नैतिकता र इमान्दारितालाई बिर्सन नहुने उल्लेख गर्दै उपभोक्तासम्म ग्यास सहज रूपमा पुग्ने व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले ग्यास वितरण विवरण प्रशासनमा बुझाउन ग्यास उत्पादक तथा डिलरहरुलाई निर्देशन दिनुभयो ।
ग्यासको पारदर्शी वितरण सुनिश्चित गर्न ग्यास उत्पादक कम्पनीले डिलरलाई तथा डिलरले सब–डिलरलाई पठाएको ग्यासको विवरण पनि दैनिक रुपमा प्रशासनलाई पठाउनुपर्ने बताउनुभयो । मकवानपुर जिल्लामा कुनियत राखेर ग्यास लुकाउने, बढी मूल्यमा बिक्रि गर्ने लगायतका कार्य गरेको पाइएमा कार्वाही गरिने समेत उहाँले चेतावनी दिनुभयो ।
ग्यास अभावको गुनासो बढेपछि प्रशासनले नापतौल तथा उद्योग वाणिज्य कार्यालयसँग समन्वय गरी दुई टोली बनाएर संयुक्त अनुगमन समेत गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत गुणप्रसाद न्योपानेले अनुगमनका क्रममा केही स्थानमा ग्यास स्टक गरेर राखिएको र आधिकारिक दर्ता नभएका सब–डिलरमार्फत वितरण भइरहेको पाइएको बताउनुभयो । ग्यासको माग उच्च भएपनि मकवानपुरमा ग्यासको चरम अभाव भैसकेको अवस्था नरहेको बताउनुभयो ।
मकवानपुरमा ७० प्रसतशत भन्दा बढी ग्यास सप्लाई गर्दै आएको सहारा ग्यासले महिनामा करिब २८ हजार सिलिन्डर ग्यास माग हुने गरेकोमा फागुनमा मात्रै ३२ हजार सिलिन्डर माग भएको प्रबन्धक खड्ग बहादुर थापाले बताउनुभयो । हाल माग बढेपछि उत्पादन र वितरण पनि दुबै बढाइएको बताउनुभयो ।
ग्यास व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष दिलिस गोविन्द जोशीले उपभोक्तासम्म सेवा सहज बनाउन डिलरमार्फत सब–डिलरको व्यवस्था गरिएको बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले केही क्षेत्रमा ग्यास बढी गएको र चाप भएका क्षेत्रमा कम पुगेको गुनासो आएको बताउँदै बिल काटेर पारदर्शी रूपमा बिक्री गर्न आग्रह गर्नुभयो । बैठकमा संकटका बेला ग्यासको विकल्पका रूपमा विद्युत् प्रयोग बढाउन पनि सुझाव दिइएको थियो । जिल्लामा रहेका २२ वटा ग्यास डिलर तथा त्यस अन्तर्गत करिब ४ सय सब–डिलर रहेका छन् । बैठकमा प्राथमिकता निर्धारण गरेर ग्यास वितरण गर्न आग्रह गरिएको छ । ज्येष्ठ नागरिक, अशक्त व्यक्ति र डेरामा बस्ने विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह गरिएको थियो । सबै उपभोक्तालाई समान रूपमा वितरण गर्न तथा बिक्रीको स्पष्ट अभिलेख राख्नसमेत सरोकारवालालाई निर्देशन दिइएको छ । बैठकमा आन्तरिक राजस्व कार्यालय, ग्यास उत्पादन कम्पनी, ग्यास डिलर एसोसियसन, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ, मकवानपुर उद्योग वाणिज्य संघ लगायतका निकायका प्रतिनिधिहरू सहभागी थिए।













