भौगोलिक समावेशितालाई ध्यानमा राख्दै नाम फिर्ता लिएः मन्दिरा मुक्तान
२ चैत्र, हेटौँडा । राजनीति वृत्तमा पद प्राप्तिका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढिरहेका बेला मकवानपुरकी मन्दिरा मुक्तानले भने प्राप्त अवसर नै त्यागेर फरक उदाहरण प्रस्तुत गर्नुभएको छ ।
श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानले सांसद नबन्ने घोषणा गर्नुभएको हो । उहाँको नाम आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा रहे पनि आदिवासी जनजाति समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद मार्फत प्रतिनिधित्व सुनिश्चित भइसकेको भन्दै आफूले अवसर त्यागेको बताउनुभयो । सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य समेत रहनुभएकी मुक्तानले भौगोलिक समावेशितालाई ध्यानमा राख्दै आफूले पाएको अवसर छाड्ने निर्णय गरेको बताउनुभयो ।
उहाँका अनुसार मधेश प्रदेश र कर्णाली प्रदेशको प्रतिनिधित्वलाई समेत समेट्न आवश्यक देखिएकाले समानुपातिक सांसद नबन्ने निर्णय लिइएको हो । आफूले पैसा लिएर उम्मेदवारी फिर्ता लिएको भन्ने आरोपसमेत आएको उल्लेख गर्दै मुक्तानले त्यो आरोप निराधार भएको बताउनुभयो । पार्टीको हित र समावेशी प्रतिनिधित्वको भावना अनुसार स्वेच्छिक रूपमा नाम फिर्ता लिएको उहाँले बताउनुभयो ।
मुक्तानको स्थानमा मधेश प्रदेशको धनुषाबाट मधेशी क्लस्टर अन्तर्गत रुबी कुमारी ठाकुरलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ । आफू प्रत्यक्ष निर्वाचन लड्न सक्ने क्षमता भएको बताउँदै मुक्तानले आगामी प्रदेशसभा वा स्थानीय तहको निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने तयारी रहेको समेत बताउनुभयो । तीन महिनाको अवधिमा राष्ट्रिय पार्टी बन्न सफल भएको श्रम संस्कृति पार्टीले सबै भूगोल र समुदायलाई समेट्नुपर्ने भएकाले यस्तो निर्णय लिइएको उहाँको भनाइ छ । पार्टीको दबाबभन्दा पनि आफ्नै इच्छाले उम्मेदवारी फिर्ता लिएको उहाँले दोहो¥याउनुभयो ।
हेटौंडा–१९ की मुक्तान विगत एक दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । यसअघि उहाँले करिब आठ वर्ष नेशनल मंगोल अर्गनाइजेशन पार्टीमा केन्द्रीय सदस्यका रूपमा काम गर्नुभएको थियो । मकवानपुर जिल्लामा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १ हजार ६ सय २४ र क्षेत्र नम्बर २ बाट १ हजार ४ सय ६७ मत प्राप्त गरेको थियो ।















