मकवानपुरमा ४० दिन सेवा गरेका निर्वाचन प्रहरीको बिदाई
२८ फागुन, हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन् ।
निर्वाचन सुरक्षामा खटिन मकवानपुरमा नेपाल प्रहरीतर्फबाट १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिएको थियो । राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै उनीहरू बिहीबारबाट बिदा भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौंडा ४ स्थित हुप्रचौरमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्री तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायतको उपस्थितिमा निर्वाचन प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । निर्वाचन प्रहरीको जिम्मेवारीबाट बिदा भए पनि बिना बर्दी पनि राष्ट्रसेवकका रूपमा सधैं जिम्मेवार भएर उभिन उहाँले आग्रह गर्नुभयो । उहाँले ४० दिनको अवधिमा सिकेका अनुशासन, जिम्मेवारी र सेवाभावलाई व्यक्तिगत जीवन, परिवार तथा समाजमा समेत लागू गर्न आग्रह गर्नुभयो । साथै जिल्ला सुरक्षा समितिलाई कुनै कारणवश थप जनशक्ति आवश्यक परे नेपाल सरकारले निर्णय गरेपछि पहिलो प्राथमिकतामा पुनः खटाइने जनशक्ति निर्वाचन प्रहरी नै हुने उहाँको भनाइ थियो । नागरिकका रूपमा रहँदा मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी र काँधमा जिम्मेवारी सधैं बोकेर अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो ।

यसैबीच निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले आफूले पाएको जिम्मेवारीलाई राज्य सेवा गर्ने अवसरका रूपमा लिएको बताएका छन् । निर्वाचन प्रहरी दण्ड दिने निकायभन्दा पनि नागरिकलाई जिम्मेवार बनाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने टोली भएको उनीहरूको भनाइ थियो । तालिममा सिकेका ज्ञान र सीपलाई आफूहरूले कर्मक्षेत्रमा कुशलतापूर्वक प्रयोग गरेको उनीहरूले बताएका छन् । साथै आफूहरूले पाउनुपर्ने सेवा–सुविधा समयमै उपलब्ध हुनुपर्ने माग पनि गरेका छन् ।
निर्वाचन सुरक्षाकै क्रममा मकवानपुरमा एक जना निर्वाचन प्रहरीको दुर्घटनामा परी मृत्यु भएको थियो । हेटौंडा–८ कर्रा पुल नजिकै सुरक्षामा खटिएका रौतहटको विजयपुर नगरपालिका–७ का पवन साहलाई फागुन १८ गते योद्धा पिकअप गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले मृतक साहका परिवारलाई कानूनबमोजिम उपलब्ध हुने क्षतिपूर्ति प्रदान गरिने बताउनुभयो ।













