प्रतिष्ठानमा राजनीतिक गन्ध आउन दिनुहुँदैनः मुख्यमन्त्री बानियाँ
२८ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको स्वास्थ्यमा राजनीति गर्न नहुने बताउनुभएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा नवनिर्मित विशिष्टकृत सेवा सहितको २ सय शैया भवनको बिहिबार समुद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले चुनावको बेला राजनीति सामान्य भएपनि जनताको स्वास्थ्य माथि राजनीति गर्न नहुने धारणा राख्नुभयो । प्रतिष्ठानमा राजनीतिक गन्ध अहिले सम्म नआएको र आउन दिन नहुने पनि उहाँले बताउनुभयो । तत्कालिन डोरमणि पौडेल नेतृत्वको सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठान बनाउन खोज्दा विभिन्न विचारहरु आएपनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले संसद्बाट विधेयकलाई सर्वसम्मत पास गराएका पनि मुख्यमन्त्री बानियाँले स्मरण गर्नुभयो ।
उहाँले हेटौँडा अस्पतालमा यसअघि डाइलोसिस सेवाका लागि १४ वटा मेसिन जडान गरिएकोमा अहिले एकै पटक १६ वटा मेसिन थप गरेर ३० वटा पु¥याइएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले हेटौँडा अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभाव हुन नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कुलपति समेत रहनुभएका मुख्यमन्त्री बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकास गरिने पनि बताउनुभयो । उहाँले प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रुपमा विकास गर्ने कामको थालनी भइसकेको बताउनुभयो । प्रतिष्ठानमा भर्ना भएका विद्यार्थी प्रमाणपत्र लिने बेलासम्ममा मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालय भइसक्ने समेत उहाँले दाबी गर्नुभयो । मुख्यमन्त्री बानियाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पताल बाहेक प्रदेशको १३ वटै जिल्लाका अस्पतालमा पनि विशेषज्ञ सेवा दिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

२७ करोड ३६ लाखको लागतमा निर्मित भवन तीन वटा ब्लकमा विभाजित छ । सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाका प्रमुख इञ्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार एक ब्लक अण्डरग्राउण्ड सहित ६ तले र बाँकी दुई ब्लक ५–५ तले संरचनामा निर्माण गरिएको छ । उपकुलपति डा. प्रदीप ज्ञवालीले अस्पताललाई सामान्य उपचार केन्द्रमा सीमित नराखी विशेषज्ञ तथा जटिल रोगहरूको उपचार हुने क्षेत्रीय स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने रणनीति अघि बढाइएको बताउनुभयो ।













