प्रतिष्ठानको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गर्न प्रिफ्याब भवनको शिलान्यास

स्वर्णिम खबर
२८ फाल्गुन २०८२, बिहीबार १२:२६

२८ फागुन, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई व्यवस्थित र स्थायी संरचनाबाट सञ्चालन गर्ने उद्देश्यले हेटौंडामा प्रिफ्याब भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ ।
हेटौंडा १० टिसियन क्षेत्रमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण कार्य अघि बढाइएको हो । भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
प्रतिष्ठानको शैक्षिक गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्ने उद्देश्यले निर्माण थालिएको यस भवनको कुल लागत ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ रहेको प्रतिष्ठानका रजिष्टार भीमसागर गुरागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य सहित बिजी साबिरा चन्द्रायण जेभी काठमाडौँसंग सम्झौता गरिएको छ ।
नयाँ प्रिफ्याक भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरू आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने रजिष्टार गुरागाईले बताउनुभयो । त्यसैगरी निर्माण कम्पनी चन्द्रायण जेभीका प्रोपाइटर राजकुमार अधिकारीले तोकिएको समयभित्र भवनको निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनेपक्षित घटना बाहेक सामान्य अवस्थामा ४ महिनाभित्र कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने आफुहरुको लक्ष्य रहेको उहाँले बताउनुभयो । यद्यपि, अन्र्तराष्ट्रिय स्तरमा भएको द्वन्द्वको कारण हुने मुल्य बृद्धि चुनौतीको रुपमा रहेको प्रोपाइटर अधिकारीले उल्लेख गर्नुभयो ।


त्यसैगरी मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरुलाई एउटै स्थानबाट व्यवस्थित ढंगले सञ्चालन गर्न भवन निर्माण गर्न लागिएको बताउनुभयो । तोकिएकै समयमा काम सक्न र सरकारबाट बोनस समेत लिनका लागि निर्माण कम्पनीलाई उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री बानियाँले निर्माण कार्यको लागि आवश्यक सामग्रीहरुको मौज्दात राख्न पनि निर्देशन दिनुभयो । कुनै पनि बहानामा निर्माण कार्यमा ढिलासुस्ती हुन नदिन पनि उहाँले निर्माण कम्पनीलाई सचेत गराउनुभयो ।


निर्माण हुने प्रिफ्याक भवन आधुनिक संरचनासहित तयार पारिने योजना रहेको छ । भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशाला लगायतका आवश्यक पूर्वाधार समावेश गरिने जनाइएको छ । प्राविधिक रूपमा तयार पारिने यस संरचनाले स्वास्थ्य शिक्षासँग सम्बन्धित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ । हाल प्रतिष्ठानले आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्न भाडामा लिइएका कोठा प्रयोग गर्नुपरेको अवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*