मकवानपुरमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउन सुरु
१७ फागुन, हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीलाई अभिमुखीकरण गरी नियुक्तिपत्र वितरण गरेसँगै आइतबारदेखि निर्वाचन सामग्री बुझाउन थालिएको हो । प्रदेश निर्वाचन अधिकारी हरि ढकालका अनुसार निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्री मतदान अधिकृतलाई उपलब्ध गराइएको छ । १० वटै स्थानीय तहका मतदानस्थलमा खटिएका कर्मचारीलाई आज र भोलि सामग्री बुझाइने छ । खटिएका कर्मचारी सोमबार नै मतदानस्थल पुगेर निर्वाचनको पूर्वतयारी थाल्नेछन् ।
मकवानपुरका दुई अस्थायी गरी ३ सय ७६ मतदान केन्द्रमा निर्वाचन गराउन ३ हजार ३ सय ६६ कर्मचारी खटिने भएका छन् । ५ सय सम्म मतदाता भएको मतदान केन्द्रमा ८ जना, ५ सय भन्दा बढी मतदाता भएको केन्द्मा ९ जना र अस्थायी मतदान केन्द्मा ५ जना कर्मचारी खटिनेछन् ।













