होलीमा अत्यावश्यक बाहेक अन्य काममा सवारी साधन नचलाउन प्रजिअको आग्रह

स्वर्णिम खबर
१७ फाल्गुन २०८२, आईतवार १८:०१

१७ फागुन, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले होली पर्वका बेला अत्यावश्यक कामबाहेक अन्य सवारी साधन नचलाउन आग्रह गर्नुभएको छ ।
उहाँले होली तथा आगामी निर्वाचनका लागि अपनाइएको सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै यस्तो आग्रह गर्नुभएको हो । उहाँले सवारी चलाउनै परेमा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी, होली खेल्नकै लागि सवारी साधन चलाउन रोक लगाइएको उहाँले स्पष्ट पार्नुभयो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा होली परेकाले शान्ति सुरक्षामा कुनै असर नपुगोस् भन्ने उद्देश्यले यस वर्ष होली पर्वमा कडाइ गरिएको अधिकारीले बताउनुभयो । विगतका वर्षझैं खुल्लमखुल्ला होली नखेल्न आग्रह गर्दै उहाँले यस पटक घरको कम्पाउन्डभित्र मात्रै होली मनाउन अनुरोध गर्नुभएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सार्वजनिक स्थलमा होली कार्यक्रम गर्न रोक लगाइएको बताउँदै प्रायोजक तथा कलाकारहरूलाई समेत होली कार्यक्रम नगर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।
निर्वाचनको पूर्वतयारीस्वरूप फागुन १४ गतेदेखि नै मदिरा बिक्री वितरणमा रोक लगाइएको उहाँले बताउनुभयो । मदिरा बिक्री वितरण तथा सेवनमा लगाइएको प्रतिबन्ध सबैले पालना गर्न र गराउन उहाँले आग्रह गर्नुभयो । सबै नागरिकको सहयोग रहेमा मात्रै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने भएकाले तोकिएका नियमहरू पालना गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १४ र १५ गते सूचना जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्दै मर्यादित रूपमा होली पर्व मनाउन आग्रह गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*