बालेन्द्र साहको प्रचार सामग्री छापिएको २ सय २० थान टिसर्ट जफत
१५ फागुन, हेटौँडा । निर्वाचन आचारसंहिता अनुगमन समिति मकवानपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको प्रचार सामग्री छापिएको टिसर्ट नियन्त्रणमा लिएको छ ।
होली पर्वलाई लक्षित गरी प्रचार सामग्रीसहितका टिसर्ट हेटौंडा बजार क्षेत्रका विभिन्न पसलहरूमा बिक्रीका लागि राखिएको भन्ने जानकारी प्राप्त भएपछि प्रशासनिक टोलीले अनुगमन गरी ती सामग्री जफत गरेको हो । आचारसंहिता विपरित यस्ता सामग्री बजारमा राखिएको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रमुख कोष नियन्त्रकको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन समितिले हेटौंडा बजार क्षेत्रका विभिन्न स्थानमा अनुगमन गरी प्रचार सामग्रीसहितका २ सय २० थान टिसर्ट जफत गरिएको सहायक प्रजिअ मोहनराज जोशीले जानकारी दिनुभयो ।
निर्वाचन आचारसंहिता अनुसार कुनै पनि उम्मेदवार वा राजनीतिक दलले निर्वाचन चिन्ह अंकित टिसर्ट क्याप ज्याकेट मास्क लकेट झmोला स्टीकर ट्याटु जस्ता सांकेतीक प्रचार सामग्री उत्पादन, प्रयोग, बिक्री वितरण तथा प्रदर्शन गर्न पाइदैन ।













