क्षेत्र नं. १ का उम्मेदवार रानाको प्रतिबद्धता पत्र सार्वजनिक

स्वर्णिम खबर
१५ फाल्गुन २०८२, शुक्रबार १९:११

१५ फागुन, हेटौँडा । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै रानाले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । पत्रमा वैदेशिक हस्तक्षेप अन्त्य गर्ने र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, लोकतन्त्रको सुदृढीकरण गर्दै समाजवाद तर्फ उन्मुख हुने, पूर्ण सुरक्षाको ग्यारेन्टी गर्ने उल्लेख गरिएको छ । राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । रगतसंग साटेर ल्याएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेकपा एमालेको रहेको उहाँले स्पष्ट पार्नुभयो ।
जेनजी आन्दोलन पछि अभिभावक बिहिन देखिएको मुलुकलाई संवैधानिक बाटोमा लैजान, राजकीय कानुनी प्रबन्ध गर्नु आफनो प्राथमिकतामा रहेको उम्मेदवार रानाले उल्लेख गर्नुभयो । उहाँले निर्वाचनबाट नयाँ जनादेश लिएर मुलुकमा देखिएको दण्डहिनताको अवस्था अन्त्य एमालेले गर्ने जिकिर गर्नुभयो ।
जनताको हक सुरक्षित नगरी हेटौंडाको सडक विस्तार गर्न नहुने उहाँको धारणा छ । उम्मेदवार रानाले प्रभावितहरुलाई आवश्यक क्षतिपूर्ति र उचित व्यवस्थापन गरेर मात्र सडक विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो । सडकलाई यथास्थितिमा राख्नु नहुनेमा पनि उहाँको जोड थियो । उम्मेदवार रानाले एमालेले सपना मात्र देखाउने नभई व्यवहारमा पनि काम गरेर देखाएको दाबी गर्नुभयो । उहाँले नेपालको भुमिलाई कसैले राजनीतिक खेलमैदान बनाउन पाइँदैन भन्ने मान्यता एमालेको रहेको बताउनुभयो ।
मकवानपुरमा रोकिएका र अधुरा रहेका विकास निर्माणका कार्यहरु सम्पन्न गर्ने, युवाहरुमा सीपमुलक विकास गर्दै रोजगारीको सृजना गर्ने, कृषि क्षेत्रलाई निर्वाहमुखीबाट व्यवसायिक रुपमा विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पहल गर्ने रानाको प्रतिबद्धता रहेको छ । क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*