रास्वपामा आन्तरिक लोकतन्त्रको अभाव छ, बोल्नै पाइँदैनः नेता पराजुली

स्वर्णिम खबर
१३ फाल्गुन २०८२, बुधबार १२:३७

१३ फागुन, हेटौँडा । नेपाली कांग्रेसका नेता भरत पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै सिद्धान्त र दृष्टिकोण नभएको टिप्पणी गर्नुभएको छ ।
फागुन ११ गते रास्वपा मकवानपुरको सभापति पद त्यागेर कांग्रेस प्रवेश गर्नुभएका उहाँले पुराना दललाई ठोक्ने र भ्रष्टाचारमुक्त बनाउँछु भन्ने भाषणमा मात्र रास्वपा सीमित भएको बताउनुभयो । बुधबार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता पराजुलीले सामाजिक सञ्जाल र भाषणमा रास्वपा जति लोकतान्त्रिक देखिन्छ, व्यवहारमा त्यस्तो नदेखिएको जिकिर गर्नुभयो । उहाँका अनुसार रास्वपामा आन्तरिक लोकतन्त्रको अभाव र बोल्नै नपाइने अवस्था रहेको छ । उहाँले केन्द्रीय नेतृत्वले जे गरे पनि स्वीकार्य हुने तर तल्लो तहका नेता–कार्यकर्तालाई आफ्ना धारणा राख्नसमेत कठिनाइ हुने अवस्था रहेको बताउनुभयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्दा पनि रास्वपा बढी निरङकुश रहेको उहाँको धारणा थियो ।
नेता पराजुलीले वर्तमान कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सभापति गगन थापाको नेतृत्वमा युवाहरूको क्षमतावान् टिम तयार भएको र पार्टी सुधारको दिशामा अघि बढिरहेको बताउनुभयो । सुध्रेको कांग्रेसले देशको अभिभावकत्व निभाउने र देशलाई सही दिशा दिन सक्छ भन्ने पूर्ण विश्वास आफुलाई लागेको उहाँको उल्लेख गर्नुभयो । नेता पराजुलीले अब कांग्रेसमा विगतको जस्तो काम गर्ने व्यक्तिलाई निरुत्साहित गर्ने प्रवृत्ति हुन नहुने बताउनुभयो ।
त्यसैगरी कांग्रेसकी निवर्तमान सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पार्टीभित्र एउटालाई न्याय गर्दा अर्कोलाई अन्याय हुन पुगेको बताउनुभयो । पार्टीभित्र सदस्यहरुलाई मिलाएर लैजान नसकेको स्वीकार गर्नुहुँदै उहाँले सुधारिएको कांग्रेसले अब त्यस्तो गल्ती नगर्ने दाबी गर्नुभयो । पार्टीमा फर्केका सदस्यहरुलाई न्याय दिन निम्ति आफुले अभिभावकत्व ग्रहण गर्ने पनि उहाँले बताउनुभयो ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजुली मकवानपुर–२ मा रास्वपाबाट उम्मेदवार बन्नु भएको थियो । प्रत्यक्ष तर्फ पराजुलीले १२ हजार ५९ मत प्राप्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*