निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
१२ फाल्गुन २०८२, मंगलवार १८:४८

१२ फागुन, हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि हेटौंडामा १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो । महासंघकी केन्द्रिय उपाध्यक्ष नितु पण्डितको प्रमुख आतिथ्यता एवम् मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी लगायतको उपस्थितमा कार्यक्रम भएको हो । अभिमुखीकरण कार्यक्रममा महासंघकी उपाध्यक्ष पण्डितले आचारसंहिताको पालना गर्न पत्रकारहरुलाई महासंघले आह्वान गर्दै आएको बताउनुभयो ।
निर्वाचन नजिकिँदै गर्दा सञ्चारकर्मीहरुमाथि विभिन्न घटना घटिरहेको उल्लेख गर्नुहुँदै उहाँले महासंघले विज्ञप्ति निकाली रहनुपर्ने स्थिति रहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष पण्डितले सही समयमा सही सुचना दिने जिम्मवारी बहन गरिरहँदा प्रेस स्वतन्त्रताको पूर्ण उपयोगमा भने चुनौती रहेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहितामा उल्लेखित व्यवस्था राम्रो भएपनि जरिवाना धेरै भएको बताउनुभयो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आचारसंहिताको पालना गर्ने र गराउने सन्दर्भमा मिडियाकर्मीको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । पत्रकार आचारसंहिताको पालना गर्दै गर्दा निर्वाचन आचारसंहिताको पालना पनि उत्तिकै जरुरी भएको उहाँको भनाई छ । मतदान हुनुभन्दा अघि नै गरिने मत सर्वेक्षणले चुनावी वातावरणमा नकारात्मक असर पर्ने भएकोले त्यसतर्फ सचेत रहन उहाँले आग्रह गर्नुभयो । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले वातावरणमैत्री निर्वाचन भए नभएको सन्दर्भमा पनि रिर्पोटिङ गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी अधिकारीले आचारसंहिता पालनाको सवालमा मकवानपुर अब्बल रहेको बताउनुभयो । निर्वाचन सम्बन्धी भए गरेका गतिविधिहरु सञ्चारकर्मीहरु माझ पु¥याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
सही सुचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै प्रजिअ अधिकारीले समाचारमा विश्वासनीय हुनुपर्ने धारणा राख्नुभयो । आगामी निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाकर्मीसंग सहकार्य गर्न तयार रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले निर्वाचन आचारसंहितासम्बन्धी सहजीकरण गर्दै आचारसंहिताका मुख्य प्रावधान र त्यसको कार्यान्वयनबारे जानकारी गराएका थिए । पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय लेखा आयोग सदस्य केसी लामिछाने, बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं तथा जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*