मतदान धेरै गरियो, अब मत क्रान्ति गरौँः सभापति लामिछाने
११ फागुन, हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते मत क्रान्ति गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार हेटौंडामा भएको परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानले नेपाली जनताले विगतमा मतदान धेरै गरिसकेकोले अब मत क्रान्ति गर्नुपर्ने जिकिर गर्नुभयो । निर्धारित समय भन्दा झण्डै साढे ३ घण्टा ढिलो कार्यक्रममा उपस्थित हुनुभएका उहाँले लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण कुरा मतदान भएको बताउनुभयो । चुनाव सार्ने खोज्ने पक्षहरु तर्फ लक्षित गर्दै उहाँले २–४ दिन नजिक चुनाव सार्न समेत व्यङग्य गर्नुभयो ।
चुनावको परिणाम रास्वपालाई स्वीकार्य रहेको उहाँको भनाई छ । सभापति लामिछानले लोकतन्त्रको महान उत्सवमा सहभागी हुन राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । आफुहरुसंग निहुँ नखोज्न उहाँले दलहरुलाई चेतावनी दिनुभयो । सभापति लामिछानले आफ्नो संगठन, एजेण्डा प्रति विश्वास भए शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरुलाई आग्रह गर्नुभयो । जनता जिताउने युगलाई सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभापति लामिछानले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए कानुनी राज्य स्थापना गर्ने बताउनुभयो । अकाट्य प्रमाणलाई रास्वपाले एआई नभन्ने उहाँले टिप्पणी गर्नुभयो । सभापति लामिछानेले २०४६ सालपछिका सम्पूर्ण काण्डको छानबीन निष्पक्ष ढंगले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशलाई कंगाल बनाएर विदेशमा लुकाइएका सम्पूर्ण सम्पत्तिको छानबीन गर्ने समेत उहाँले उल्लेख गर्नुभयो । सभापति लामिछानेले कुनै राजनीतिक दलप्रति पनि प्रतिशोध नराख्ने बताउनुभयो । उहाँले आफ्नो दलको सरकार बनेको खण्डमा राम्रो काम गर्ने डराउन नपर्ने समेत बताउनुभयो ।
सभामा सभापति लामिछानेले किसान, शिक्षक, विद्यार्थीहरुको समस्या समाधान गर्न ५ वर्षसम्म स्थायी सरकार बनाउने मौका दिन पनि अपिल गर्नुभयो ।














