विकास र सुशासनलाई जोड दिँदै गौतमको प्रतिबद्धता पत्र सार्वजनिक
११ फागुन, हेटौँडा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार बिजय गौतमले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गौतमले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उहाँले भ्रष्टाचार, कमिसन र तस्करी जस्ता बेथितिको अन्त्य गर्दै सुशासन, विकास र समृद्धिसहितको स्थिर सरकार निर्माणका लागि मतदातासमक्ष अपिल गर्नुभएको छ । प्रतिबद्धता–पत्रमा ‘ग्रेटर हेटौडा चक्रपथ’ निर्माणलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ । हेटौडा उपमहानगरपालिकालाई महानगर बनाउने प्रयास, कर्रा, राप्ती तथा बागमती नदी करिडोर निर्माण, ग्रामीण सडक स्तरोन्नति तथा बार्है महिना सञ्चालनयोग्य सडक विस्तारमा पहल गर्ने जनाइएको छ ।
राजमार्ग ऐन अन्तर्गत हेटौंडा नगरको विस्तार गर्दा पीडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने उल्लेख गरिएको छ । प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच, सबै वडामा इन्टरनेट सेवा विस्तार र एकीकृत नमुना बस्ती विकास कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिइने बताइएको छ । उहाँले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासनका लागि खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डिजिटल सेवा विस्तार, ई–सेवा प्रणाली सुदृढीकरण तथा जनप्रतिनिधि–जनता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ । गढी, बकैया, बागमती र हेटौडाका विभिन्न क्षेत्रमा व्यावसायिक कृषि जोन विकास, सिँचाइ सुविधा विस्तार र पशुपालन प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र विस्तार, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवद्र्धन र युवालाई सहुलियत ऋणमार्फत उद्यमशीलता विकास गर्ने योजना अघि सारिएको छ । पर्यटनतर्फ ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन, होमस्टे विकास र आन्तरिक पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । गुणस्तरीय सामुदायिक विद्यालय, प्राविधिक तथा सीपमूलक शिक्षा केन्द्र स्थापना र विपन्न वर्गका लागि छात्रवृत्ति व्यवस्था गर्ने घोषणा गरिएको छ । स्वास्थ्य क्षेत्रमा गाउँपालिका स्तरमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र, आमा–बाल तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम र हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा विस्तारमा प्राथमिकता दिने उल्लेख छ ।
युवा, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोष वृद्धि, एक वडा एक महिला उद्यम कार्यक्रम र शिशु स्याहार केन्द्र स्थापना गर्ने योजना पनि प्रतिबद्धता–पत्रमा समेटिएको छ । बागमती, बकैया तथा मकवानपुरगढी क्षेत्रमा बाढी–पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना निर्माण, चुरे संरक्षण, हरित ऊर्जा प्रवद्र्धन र ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । उम्मेदवारले वन, नदी र प्राकृतिक स्रोत संरक्षणसँगै लालपुर्जा वितरणका समस्याको समाधानमा उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । क्षेत्र नं. १ मा १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको छ ।













