नेपाली भाषासँगै स्थानीय मातृभाषामा समेत मतदाता शिक्षा प्रदान

स्वर्णिम खबर
७ फाल्गुन २०८२, बिहीबार १६:५५

७ फागुन, हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदान प्रक्रियाका बारेमा बुझाउने उद्देश्यले मकवानपुरका १०२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक वडामा स्वयंसेवक परिचालन गरी घरदैलोमा नमूना मतपत्रमार्फत मतदाता शिक्षा दिइँदै आएको छ । स्वयंसेवकले नेपाली भाषासँगै स्थानीय मातृभाषामा समेत शिक्षा प्रदान गरिरहेका छन् । चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको क्षेत्रमा चेपाङ र थाहा तामाङ भाषामा मतदाता शिक्षा दिइएको छ । मकवानपुर–२ निर्वाचन क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश वडामा स्वयंसेवकले नेपालीका साथै चेपाङ भाषामा पनि मतदाता शिक्षा दिइरहेका छन् । यस्तै, थाहा नगरपालिकामा पनि तामाङ भाषामा मतदाता शिक्षा प्रदान भइरहेको छ ।

मतदाता शिक्षा कार्यक्रमको अनुगमनका लागि १० स्थानीय तहका लागि तालिम प्राप्त अनुगमनकर्ता नियुक्त गरिएको छ । स्वयंसेवकले मतदाताको घरबस्ती, समुदायस्तरमैै पुगेर नमूना मतपत्रमार्फत मतदान गर्ने सही तरिका, मतपत्रमा छाप लगाउने , पट्याउने र बाकसमा खसाल्ने प्रक्रियासम्म सिकाउनेछन् ।
मतदान प्रक्रियालाई सहज र सरल बनाउने तथा बदर मत घटाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार मकवानपुरमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो । उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले पनि घरदैलो गर्दा मत हाल्ने तरिका सिकाए बदर मत अझै कम हुन सक्ने उहाँले बताउनुभयो ।


दुई निर्वाचन क्षेत्र रहेको मकवानपुर–१ मा १ लाख ५८ हजार ४३५ मतदाता छन् भने मकवानपुर–२ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्। जिल्लाको कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ पुगेको छ, जसमा महिला मतदाता १ लाख ५३ हजार ३७६ छन् भने अन्य मतदाता ५ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*