निष्पक्ष निर्वाचन प्रजातन्त्रको मुटुः प्रदेश प्रमुख देवकोटा

स्वर्णिम खबर
७ फाल्गुन २०८२, बिहीबार १३:१५

७ फागुन, हेटौँडा । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले निष्पक्ष निर्वाचन प्रजातन्त्रको मुटु भएको बताउनुभएको छ ।
मतदाताहरुले डर, त्रास र दबाब बिना गोप्य मताधिकारको प्रयोग गर्न सक्ने वातावरण तयार हुनुपर्ने उहाँको भनाई छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारको आयोजनामा बिहिबार हेटौंडामा आयोजित समारोहमा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले सामाजिक सञ्जालमा देखिएका सतही प्रचार मार्फत मतदातालाई प्रभावमा पार्न खोजिनु गलत भएको जिकिर गर्नुभयो ।
निर्वाचनपछि राजनीतिक दल, मतदाताबीच मनमुटाव नरहोस् भन्ने तर्फ सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो । विगतको गौरवलाई सम्झिदै वर्तमानलाई सुधार्ने र भविष्यलाई सुरक्षित बनाउने प्रण सबैले गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले फागुन २१ गतेको निर्वाचन सम्पूर्ण राजनीतिक अस्थिरता र अन्योलतालाई चिर्दै समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।


त्यसैगरी प्रदेश प्रमुख देवकोटाले देश र जनताप्रतिको उत्तरदायित्व हराउँदा प्रजातन्त्रको आत्मा कमजोर हुने बताउनुभयो । प्रजातन्त्रलाई विधिको शासनको रुपमा परिभाषित गर्दै उहाँले नेतृत्वकर्ताहरुले पारदर्शीता र उत्तरदायित्वलाई भुल्न नहुने बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले शिशु प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आधारशिलाको नाममा धेरै समय गुज्रिसकेको उल्लेख गर्नुभयो । उहाँले देशमा राजनीतिक स्थायित्व जरुरी भएपनि सुशासन र सामाजिक न्याय बिनाको स्थायित्वको कुनै अर्थ नहुने जिकिर गर्नुभयो । राजनीतिक अवरोध बिना देशको विकास अविरल गतिमा अघि बढ्नुपर्ने उहाँको भनाई छ ।
त्यसैगरी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रजातन्त्रमाथि बसेर प्रजातन्त्रलाई कमजोर बनाउने छुट कसैलाई नभएको बताउनुभयो । प्रजातन्त्रको नाममा हुने शासनमा जनताको अधिकार मिच्ने काम हुँदा जनताले नसहने विगतका विभिन्न राजनीतिक आन्दोलनबाट पुष्टि भएको उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले पारदर्शी, जवाफदेही, सुशासन प्रदेश सरकारको धर्म भएको बताउनुभयो । शासन चलाउने देखि प्रशासन चलाउनेसम्मले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।


समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले प्रजातन्त्र दिवसलाई एक दिनको औपचारिक कार्यक्रममा मात्र सीमित राख्न नहुने बताउनुभयो । कार्यक्रममा नेवा सांस्कृतिक पुचः हेटौँडा र श्री छोर्वा बोन्बो तथा डम्फु सेलो संस्थाले स्थानीय भेषभुषा र संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*