निर्वाचन लक्षित सुरक्षा योजना तयार छः प्रहरी प्रमुख रेग्मी
१ फागुन, हेटौँडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले आगामी निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षा योजना तयार गरिएको बताउनुभएको छ ।
शुक्रबार सञ्चारकर्मीसँग आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै डीआईजी रेग्मीले शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन मतदानस्थलको सुरक्षा, संवेदनशील क्षेत्रको पहिचान तथा आवश्यक जनशक्ति व्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयो । प्रदेशका निर्वाचन स्थलहरू भौगोलिक अवस्था, सुरक्षा संवेदनशीलता, हेभीवेट उम्मेदवारको क्षेत्र लगायतका आधारमा वर्गीकरण गरी सुरक्षा योजना तयार गरिएको उहाँले बताउनुभयो । प्रहरी प्रमुख रेग्मीले जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार र भागेका कैदीहरुको कारण निर्वाचनमा कुनै असर नपर्ने दाबी समेत गर्नुभयो । लुटिएका अधिकांश हतियारहरु फिर्ता हुने क्रममै रहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख रेग्मीले प्रदेशमा शान्ति सुरक्षा कायम राख्नु प्रहरीको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै नागरिकसँग सहकार्य गरेर अपराध नियन्त्रण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताउनुभयो । मकवानपुरमा बढ्दो लागूऔषध नियन्त्रणका लागि नागरिक सहयोग र राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो । कानून नमान्नेको संख्या बढ्दा प्रहरीको भूमिका कमजोर देखिने उल्लेख गर्दै प्रमुख रेग्मीले लागूऔषधकै कारण धेरै व्यक्ति कैदीबन्दी हुने अवस्था आएको उहाँले बताउनुभयो । यसको नियन्त्रणका लागि नागरिक सहयोग, राजनीतिक प्रतिबद्धता र जनचेतना सबै आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।














