प्रलोपाका उम्मेदवारको प्रतिबद्धता पत्र सार्वजनिक
४ फागुन, हेटौँडा । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट मकवानपुरका दुबै क्षेत्रका उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छन् ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र नं. १ का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) र क्षेत्र नं. २ का उम्मेदवार सन्तोष विष्टले प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । दुबै उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्रमा व्यवस्थित सहरीकरण, पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य उपचार देखि गाँजा खेतीलाई वैधानिकता दिन पहल गर्ने सम्मका विषय समेटिएका छन् । हेटौंडाको मुख्य बजार क्षेत्रमा स्मार्ट ट्राफिक म्यानेजमेन्ट र वैज्ञानिक पार्किङ स्थल निर्माण गरिने, डुबानको समस्या हल गर्न आधुनिक ढल विकासको गुरुयोजना लागु गर्ने, फोहोरमैलालाई मलमा रुपान्तरण गर्न आधुनिक प्रशोधन केन्द्र स्थापना गर्ने, विद्युतीय तारलाई भुमिगत गर्ने क्षेत्र नं. १ का उम्मेदवार उप्रेतीले बताउनुभयो । उहाँका अनुसार कान्तिलोकपथलाई आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरी काठमाडौँको वैकल्पिक लाइफलाइन बनाइने, बागमती र बकैया खोलाका सबै रणनीतिक स्थानमा दुई वर्षभित्र पक्की पुल निर्माण गर्ने गरिनेछ ।
हेटौंडा औद्योगिक क्षेत्रका रुग्ण उद्योगहरुलाई पिपिपि मोडलमा पुनः सञ्चालन गर्ने समेत उप्रेतीको प्रतिबद्धता रहेको छ । त्यसैगरी उहाँले हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्तरोन्नति गर्ने, क्यान्सर, मिर्गौला र मुटु रोग जस्ता जटिल बिरामीका लागि स्थानीय स्तरमै उपचार कोष बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी हेटौंडालाई हरियाली शहर बनाउन एक घर दुई वृक्ष अभियान चलाइने, राप्ती र बकैया खोलामा वैज्ञानिक तटबन्ध निर्माण गर्ने, चुरे क्षेत्रको संरक्षणको लागि वृक्षारोपण गर्ने पनि उहाँको प्रतिबद्धतामा उल्लेख गरिएको छ । गौरीटार रंगशालाको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्ने, खेलकुद एकेडेमी स्थापना गर्ने पनि उहाँले बताउनुभयो ।
त्यसैगरी क्षेत्र नं. २ का उम्मेदवार विष्टले गरिबी अन्त्य, शिक्षा, स्वास्थ्य, कृषिलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ । गरिब परिवारलाई सबै अवसरहरुमा पहिलो प्राथमिकता दिलाइने प्रतिबद्धता व्यक्त गर्नुभएको विष्टले कक्षा १२ को शिक्षा निःशुल्क र प्रभावकारी बनाइने, राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति निर्माण गर्ने उल्लेख गर्नुभएको छ । उहाँका अनुसार हरेक पालिकामा कम्तिमा १५ शैंयाको अस्पताल सञ्चालन गरिनेछ ।
त्यसैगरी विष्टले नपुग हुने खाद्य वस्तु आयात र धेरै हुने खाद्य वस्तु बिक्री गर्न पालिका सहकारी सहकार्य प्रणाली विकास गरी एक वर्ष पालिकालाई चाहिने अति आवश्यक खाद्य वस्तु सञ्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मकवानपुरको क्षेत्र नं. २ मा गाँजाखेती र त्यसबाट बन्ने औषधि लगायत वस्तुहरु उत्पादन गर्न तथा दुरुपयोग हुन नदिन ऐन कानुनको तर्जुमा गर्ने समेत उहाँको प्रतिबद्धता रहेको छ । स्थानीय स्तरमा आयआर्जन, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको प्रबन्ध बृद्धि गरी बसाईसराईको दर घटाउने समेत उहाँको प्रतिबद्धता रहेको छ ।














