निर्वाचनमा बालबालिका प्रयोग नगर्न र नगराउन प्रतिबद्धता पत्रमा हस्ताक्षर
४ फागुन, हेटौँडा । निर्वाचन सन्दर्भमा बाल अधिकारको संरक्षणका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी हेटौ.डामा कार्यक्रम भएको हो । इन्सेक, हिमाली नवीन समाज र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचनमा बाल अधिकार संरक्षण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले विद्यमान कानुनी व्यवस्था, बाल अधिकारसम्बन्धी प्रावधान, निर्वाचन आचारसंहिता २०८२ मा उल्लेखित व्यवस्था, सबैले पालना गर्नुपर्ने आचरण, स्वयम् बालबालिकाको भूमिका, अभिभावकको भूमिका, निर्वाचन आयोगको भूमिका तथा राजनीतिक दल र उम्मेदवारको भूमिका लगायतका विषय प्रस्तूतीकरणमा समेट्नुभएको थियो ।
प्रस्तुतीकरणमा देशभर रहेका कुल १० हजार ७ सय ५४ मतदान केन्द्रमध्ये ९ हजार ४ सय ३३ वटा विद्यालयमा रहेको बताइएको छ । त्यस्तै ९५ वटा मतदान केन्द्र स्वास्थ्य संस्थामा र १ हजार २ सय २६ वटा अन्य स्थानमा रहेको जनाइएको छ । निर्वाचनका समयमा बालबालिकाको प्रयोग नगराउने प्रतिबद्धता राजनीतिक दलहरूले जनाए पनि व्यवहारमा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग हुने गरेकोप्रति चिन्ता व्यक्त गरिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले २०७९ सालको निर्वाचनमा १ सय १५ बालबालिका प्रयोगसम्बन्धी घटना संकलन गरेको जानकारी दिएको छ । कार्यक्रमका सहभागीहरूले विद्यालयमा मतदान केन्द्र राखिएको विषय गम्भीर रूपमा उठाएका थिए । कार्यक्रमको प्रमुख अतिथि उपसभामुख चापागाईँले विद्यालयलाई विद्यालयकै रुपमा स्थापित गराउनका लागि रणनीतिक हिसाबले अगाडी बढ्नुपर्ने बताउनुभयो । विद्यालयलाई मतदान केन्द्र बनाउने कार्य बिस्तारै हटाउन आवश्यक रहेको उहाँको धारणा थियो ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले विद्यालयमा मतदान केन्द्र नराखी सामुदायिक भवनमा राख्नुपर्ने बताउँदै सरोकारवालाहरूले विद्यालयको विकल्प खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै,सरोकारवालाहरुल सुविधा र पहून्चका दुष्टिले विललयलाई मतदान केन्द्र बनाइएपनि यसले बालबालिकाको शिक्षा, बालमनोविज्ञानमा असर पर्ने बताएका छन् । विद्यालयलाई मतदान केन्द्र बनाउँदा ४–५ दिनसम्म पठनपाठन कार्य प्रभावित हुने भएकाले सामुदायिक भवन, वडा कार्यालय, सार्वजनिक सभाहलहरुको प्रयोग गरिनुपर्नेमा उनीहरुको जोड रहेको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, रोकारवाला निकायहरूले बालअधिकारको संरक्षण, सम्बद्धन र प्रवद्र्धन सुनिश्चित गर्न, निर्वाचनमा बालबालिका प्रयोग नगर्न र नगराउन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा राप्रपा जिल्ला उपाध्यक्ष अर्जुन गौतम, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य प्रल्हद लामिछाने, नेकपा एमाले जिल्ला सचिव सिता बिष्ट, नेपाली कांग्रेस पार्टी प्रवक्ता अर्जुन चौलागाईंले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, गैरसरकारी संस्था (गैसस) तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।














