रासससंग सहकार्य गर्न प्रदेशसभा तत्परः उपसभामुख चापागाई
५ फागुन, हेटौँडा । बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईले मुलुकको एकमात्र समाचार एजेन्सी राष्ट्रिय समाचार समितिसँग सहकार्य गर्न प्रदेशसभा तत्पर रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) को ६५ औं बार्षिकोत्सवको अवसरमा रासस बागमती प्रदेश कार्यालय हेटौँडा मकवानपुरद्वारा मंगलबार आयोजित ‘‘प्रदेशसभामा राससको समाचार” विषयक अन्तर्रिक्रया कार्यक्रममा बोल्नुहुँदै उपसभामुख चापागाईले प्रदेशसभाका गतिबिधिहरु पारदर्शी र जनतासमक्ष लैजाने सबालमा प्रदेशसभा रासससँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशसभामा प्रदेशसभा सदस्यहरुको माध्यमबाट व्यक्त भएका जनताका आवाजलाई जनतासमक्ष पु¥याउन राससले खेल्दै आएको भूमिका प्रशंसनिय रहेको बताउनुभयो ।
उपसभामुख चापागाईले प्रदेशसभाबाट पारित बिद्येयक, नीतिगत छलफल, दफावार छलफल र संसदीय गतिबिधीहरुलाई पारदर्शी रुपमा दस्ताबेजीकरण गर्ने सबाल रासससँग समन्वय र सहकार्य गर्न प्रदेशसभा प्रतिबद्ध रहेको बताउनुभयो । लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसक्दाँ प्रदेशसभाप्रति निराशा बढेको बताउनुहुँदै उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सकिए लग्तै प्रदेशसभाको बैठक बस्ने गरी तयारी भईरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सञ्चार माध्यममा आउने एउटा गलत सूचनाले समाजमा ठूलो दुर्घटना हुन सक्ने जोखिम रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले सामाजिक सञ्जालका कारण गलत सूचना प्रवाह भईरहेकाले रासस जस्ता सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह हुने खालका समाचार सम्प्रेषण गर्नु आवश्यक रहेको औल्याउनुभयो । त्यस्तै प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले प्रविधिको विकाससँगै राससले पनि आफ्ना सेवाहरु थप्दै जानु सकारात्मक भएको चर्चा गर्नुहुँदै उहाँले राससले भ्रष्टचार, बेथितिका विरुद्ध निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो । पत्रकारले समस्या मात्र उठान गर्ने नभई समाधान हुने गरी पत्रकारिता गर्नुपर्ने उहाँको भनाई छ । प्रदेशसभामा उठेका जनताको आवाजलाई मुखरित हुने गरी राससले गहिरो रुपमा उठाउनुपर्ने सुझाब समेत उहाँले दिनुभयो ।रजिष्टार सापकोटाले विश्वव्यापी रुपमा पत्रकारितमा संकट देखापर्दै गएको बताउनुभयो ।

रासस बागमती प्रदेश कार्यालयका प्रमुख राजु विश्वकर्माको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक योगेन्द्र यादव, प्रदेशसभाका सचिव रामप्रसाद पौडेल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, गैसस बागमती प्रदेश अध्यक्ष कमल विश्वकर्मा लगायतले सञ्चार क्षेत्रमा राससले पु¥याएको योगदान बारे चर्चा गर्नुभएको थियो ।













