सस्तो लोकप्रियता तर्फ अख्तियार लाग्नुहुँदैनः प्रदेश प्रमुख देवकोटा

स्वर्णिम खबर
२९ माघ २०८२, बुधबार १४:५०

२८ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानुनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा हेटौंडा स्थित कार्यालयले बुधबार आयोजना गरेको समारोहमा प्रदेश प्रमुख देवकोटाले सार्वजनिक पद धारण गरेको व्यक्तिमा स्वच्छता र सदाचारिता हुनुपर्ने बताउनुभयो । अख्तियारको हरेक कदमलाई आम नागरिकले नियालिरहेको उहाँले बताउनुभयो । नियम कानुनको परिधीभित्र रहेर परिणामुखी कार्य गरी जनताको भरोसा जित्न सक्नुपर्ने उहाँको धारणा छ । प्रदेश प्रमुख देवकोटाले संख्यात्मक र सस्तो लोकप्रियता तर्फ अख्तियार लाग्न नहुनेमा पनि सचेत गराउनुभयो । सुशासन र कानूनी सर्वोच्चताका बारेमा विद्यालय शिक्षादेखि नै गहन रुपमा पाठ्यक्रममा विषयवस्तु समावेश गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । भ्रष्टाचाररुपी रोग लाग्न नदिन यथाशक्य पहल गर्नुपर्ने आवश्यकता समेत उहाँले औल्याउनुभयो ।
त्यसैगरी समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टचारलाई नियन्त्रण भन्दा निर्मुल नै पार्नुपर्ने बताउनुभयो । शासन सञ्चालन गर्ने राजनीतिक व्यक्तित्व, प्रशासन चलाउने निजामती संयन्त्रले भ्रष्टचार गर्देनौँ, गर्न पनि दिन्नौँ भन्ने नारालाई व्यवहारमा पनि लागु गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । अख्तियारमा उजुरी नै नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । लोकतन्त्रमा जनता नै सर्वोपरि भएकोले अख्तियारको काम कारवाही जनताको पक्षमा हुनुपर्ने धारणा उहाँले राख्नुभयो । बजेट खर्च नभएर सरकार नै असफल भइरहेको सन्दर्भमा फाइल अख्तियारमा पेन्डिङमा रहनु दुर्भाग्यपूर्ण भएको उहाँले जिकिर गर्नुभयो । मुख्यमन्त्री बानियाँले जनतासंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणसंग सम्बन्धी उजुरीहरुको छिटो छिनोफानो हुनुपर्ने उल्लेख गर्नुभयो ।


त्यसैगरी बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले अख्तियारको काम जति कम भयो, त्यत्ति नै सुशासन कायम हुँदै जाने बताउनुभयो । सबै तह र तप्कामा बसेकाहरुले आफ्नो भुुमिका निर्वाह गर्दा सुशासनयुक्त, भ्रष्टचार मुक्त देश निर्माण हुने उहाँले धारणा राख्नुभयो । उपसभामुख चापागाईले प्रदेशसभा र अख्तियारबीच विशेष सम्बन्ध रहेको जिकिर गर्नुभयो । प्रदेशसभाले बनाएका कानुनको विषयमा सबै प्रष्ट हुँदा अख्तियारको दुरुपयोग कम हुने उहाँले बताउनुभयो ।
समारोहमा कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीले आर्थिक वर्ष २०८१÷८२ मा ७० दशमलब ४२ उजुरी फछ्र्यौट भएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौंडा स्थित कार्यालयमा दर्ता भएका २ हजार ७ सय ६६ उजुरी मध्ये १ हजार ९ सय ४८ उजुरी फछ्र्यौट भएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा ८ सय १८ वटा उजुरी जिम्मेवारी सरेर आएको उहाँले बताउनुभयो । त्यसैगरी प्रमुख पुडासैनीले आयोगमा हालसम्म ९ सय ५८ उजुरी दर्ता भई १ हजार ७ सय ७६ उजुरी कायम रहेका छ । जस मध्ये ७ सय ३१ उजुरीको फछ्यौट भई हाल १ हजार ४५ उजुरी छानबीनको क्रममा रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*