माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा बृहत् शैक्षिक प्रदर्शनी
२७ माघ, हेटौँडा । विद्यालयको शैक्षिक गतिविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कुलले बृहत् शैक्षिक प्रदर्शनी आयोजना गरेको छ ।
यसअघि विद्यालयमा गणित र विज्ञान विषयका मात्रै प्रदर्शनी हुँदै आएकोमा यस वर्षदेखि सबै विषय समेटेर विषयगत शैक्षिक प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ । मंगलबार आयोजित प्रदर्शनीमा विज्ञान, गणित, नेपाली, सामाजिक अध्ययन, अंग्रेजी, कम्प्युटर लगायतका सबै विषयका सामग्रीहरू समावेश गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले पाठ्यपुस्तकमा रहेका विषयवस्तुमा आधारित रहेर विभिन्न चार्ट, प्रयोगात्मक चित्रहरु तयार पारेका थिए ।
नेपाली र अंग्रेजी विषयअन्तर्गत व्याकरणीय ज्ञान प्रस्तुत गरिएको थियो भने कम्प्युटर विषयतर्फ आधारभूत कम्प्युटर प्रणाली र प्रविधि सम्बन्धी जानकारी राखिएको थियो । सामाजिक अध्ययनतर्फ विभिन्न चाडपर्व, जातजाति विशेष भेषभूषा, कृषि उत्पादन, मौसमसम्बन्धी जानकारी, राष्ट्रिय चिन्हहरू लगायतका सामग्रीहरू प्रदर्शन गरिएको थियो । साथै परम्परागत कृषि औजार हलो, जाँतो, पानीघट्ट लगायतका सामग्रीसमेत प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीहरूले कक्षाकोठामा उपलब्ध हुने सामग्री प्रयोग गरी रोबोट, ल्यापटपजस्ता नमुना सामग्रीहरू पनि निर्माण गरेका थिए । प्रदर्शनीमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका सामग्री बिहान १० बजेदेखि १२ बजेसम्म र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले तयार पारेका शैक्षिक सामग्रीहरू त्यसपछि प्रदर्शन गरिएको विद्यालयले जनाएको छ । नेपाल सरकारले पाठ्यक्रममा अवलम्बन गरेको विद्यार्थी केन्द्रित सिकाइ विधिअनुसार प्रदर्शनी आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रामहरी रिमालले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले आफैँ बनाएर, हेरेर र बुझेर सिक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले प्रदर्शनी गरिएको हो । यसले विषयवस्तुबारे थप जान्न र बुझ्न विद्यार्थीलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्रदर्शनीले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, आत्मविश्वास र सिर्जनशीलताको विकासमा सहयोग पुगेको विद्यार्थीहरूले बताएका छन् । किताबमा रहेका विषयहरूलाई प्रयोगात्मक रूपमा आफैँ तयार गर्दा सिकाइ उपलब्धि अझ राम्रो हुने अनुभव उनीहरूले व्यक्त गरेका छन् ।
प्रदर्शनीमा विद्यार्थीहरूले आफैँ तयार पारेका भिडियो गेमहरू समेत राखिएका थिए । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले तीनवटा भिडियो गेम निर्माण गरेको विद्यालयले जनाएको छ ।
नर्सरीदेखि कक्षा १० सम्म अध्ययन हुने यस विद्यालयमा हाल ९ सय ४ जना विद्यार्थी अध्ययनरत छन् । आगामी वर्षहरूमा पनि यस्ता शैक्षिक प्रदर्शनीलाई निरन्तरता दिइने विद्यालयका प्रिन्सिपल रिमालले बताउनुभयो ।













