छैठौं मिडिया कपको उपाधि टिम टिभीलाई
२० माघ, हेटौँडा । रेडियो मकवानपुरले आयोजना गरेको छैठौं मिडिया कप फुट्सलको उपाधि टिम टेलिभिजनले जितेको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरलाई ५–३ गोलले हराउँदै टिम टेलिभिजनले उपाधि जितेको हो । निर्धारित समय २–२ गोलको बराबरी भएको थियो । थपिएको समयमा टिमले गोल गर्दै जित सुनिश्चित गरेको हो । टिमलाई जिताउने क्रममा मनिष खड्काले ४ र विश्वास विश्वकर्माले एक गोल गरेका हुन् । यता पत्रकार महासंघको तर्फबाट रविन्द्र वाइबाले २ र सञ्जिव रसाइलीले एक गोल गरेका थिए ।
प्रतियोगितामा टिम टिभी र पत्रकार महासंघसहित रेडियो मकवानपुर, रेडियो थाहा सञ्चार, हेटौंडा एफएम, बागमती एक्सप्रेस, नेपाल प्रेस युनियन मकवानपुर र नेपाल खेलकुद पत्रकार मञ्चको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता र उपविजेतालाई यही माघ २२ गते सप्ताहव्यापी कार्यक्रमको समापनका दिन पुरस्कार प्रदान गरिने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिनुभयो ।
रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुद्देश्यीय सहकारीको २८ औं स्थापना दिवसमा माघ १६ गतेबाट विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना भैरहेको छ । सप्ताहव्यापी कार्यक्रमको समापन यही २२ गते हेटौंडा १ स्थित हिमालयन दरबारमा हुनेछ ।













