प्रदेशसभालाई बन्धक बनाउँदा लोकतन्त्र प्रति नै अनादर हुन्छः प्रदेश प्रमुख देवकोटा

स्वर्णिम खबर
१९ माघ २०८२, आईतवार १८:५१

१८ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले लोकतन्त्र विचारको मन्थनबाट सशक्त हुने बताउनुभएको छ ।
विविधताको बीच पनि संवाद, सहकार्य र संवैधानिक मर्यादा अपरिहार्य हुने उहाँको धारणा छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रदेशसभा सचिवालयको परिसर मै आयोजित बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले असहमति नै लोकतन्त्रको शक्ति भएको बताउनुभयो ।
अवरोध र निर्णय बिहिनताको अवस्थामा लोकतन्त्रको कमजोर हुने उहाँको भनाई छ । लामो समयदेखि प्रदेशसभा बैठक नबसेको प्रति असन्तुष्टि जनाउँदै प्रदेश प्रमुख देवकोटाले प्रदेशसभालाई बन्धक बनाउँदा लोकतन्त्र प्रति नै अनादर हुने जिकिर गर्नुभयो । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाभित्र हुने बहस, सहमति र निर्णयहरुमा लोकतान्त्रिक संस्कार प्रतिबिम्बित हुनुपर्ने बताउनुभयो । प्रदेश र प्रदेशबासीको चासोको विषयले प्रदेशसभामा उच्च स्थान पाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।त्यसैगरी, समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्था प्रति वितृष्णा नबढेको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र प्रति आकर्षण जगाउने काम कम भएको उहाँको बुझाई छ । मुख्यमन्त्री बानियाँले गणतन्त्रबादी दलहरुको बोली र व्यवहार फरक हुँदा समस्या भएको बताउनुभयो ।
सभामुखको निर्वाचन र अधिवेशन आह्वान गर्ने सन्दर्भमा प्रतिपक्षी दलहरुसंग संवाद भइरहेको जानकारी गराउँदै उहाँले प्रतिपक्षी दलहरुले नै फागुन २१ गतेको निर्वाचन पछि बैठक बोलाउन आग्रह गरेको बताउनुभयो । व्यवस्था नभई अवस्थामा भएको कमजोरीलाई सुधार गर्न जेनजी पुस्ताले गरेको आन्दोलनलाई सबैले स्वीकार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।


यसैगरी, समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले सभामुखको चयन र प्रदेशसभा बैठक कहिले बोलाउन भनेर मुख्यमन्त्रीलाई प्रश्न गर्नुभयो । सरकारमा आफुहरुको चासो नरहेकोले सभामुख प्रतिपक्षी दललाई दिन उहाँले आग्रह गर्नुभयो । नेता जम्कट्टेलले सभाको बैठक छिटो राखेर सभामुखलाई टुंग्याउनुपर्नेमा जोड दिनुभयो । हेटौंडा–काठमाडौँ जोड्ने सडकको अवस्थाले नै संघीयता प्रति उठेको टिप्पणीलाई जवाफ दिएको उहाँको भनाई छ । प्रादेशिक संरचनाकै कारण ठाउँ–ठाउँमा सडक, पुल निर्माण भएको नेता जम्कट्टेलले बताउनुभयो ।
उपसभामुख अप्सरा चापागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान सहित रक्तदान कार्यक्रमा रक्तदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*