बकैया–कला साहित्य महोत्सवमा ११ जना स्रष्टा सम्मानित हुने

स्वर्णिम खबर
१८ माघ २०८२, शनिबार १८:२०

१७ माघ, हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरले एक सञ्चारकर्मी सहित साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याएका ११ जना व्यक्तित्वलाई नगद सहित सम्मान गर्ने भएको छ ।
३ सय २३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा फागुन ५ र ६ गते बकैया ४ महेन्द्र मा.वि. आयोजना हुने बकैया–कला साहित्य महोत्सव–२०८२ मा विविध विधाका पुरस्कार तथा सम्मान प्रदान गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नगद २१ हजार १ सय २१ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ पाँचथरका रमेश शुभेच्छुकलाई प्रदान गरिने झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिनुभयो ।
जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत नगद रू १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका निमेश निखिललाई प्रदान गरिने झरना साहित्यिक परिवारले जनाएको छ । यस्तै, मुक्तकमा योगदान गरेवापत रुकुम पश्चिमका कर्णबहादुर खत्रीलाई नगद रू १५ हजार ५ सय ५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान प्रदान गर्ने झरनाले निर्णय गरेको छ । यो सम्मान चैतको चौँथो शनिबार हेटौँडामा हुने मुक्तक साँझमा सर्मपण गरिनेछ ।
८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ नेपालगञ्जकी ऋचा लुइँटेललाई प्रदान गरिने भएको छ । यस्तै, सिर्जनशील नारी सम्मान–२०८२ मकवानपुरकी संगीता थापालाई, सञ्जीवनि बुटि साहित्य सम्मान–२०८२ मकवानपुरकै डा.अर्पण पराजुली, खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ सूर्य सन्यासीलाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कार राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । छन्द कवितामा उल्लेख्य योगदान गरेवापत ९ हजार रुपैंया  राशीको ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ भैरहवाकी सिर्जना खनाललाई सर्मपण गरिने भएको छ । बकैयामा रहेका कलाका क्षेत्रमा योगदान गरेवापत ५ हजार ५ सय ५५ रुपैंयाको नवप्रतिभा पुरस्कार मोनिका नेगीलाई प्रदान गरिने भएको छ ।
पत्रकारिताका माध्यमबाट झरनाको प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै नगद रु. ११ हजार १ सय ११ राशीको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान पत्रकार दिपक अधिकारीलाई दिइने भएको छ । यस वर्षबाट स्थापना भएको लोक गीतसंगीतमा सेवा गरेबापत आफ्ना मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाद्वारा स्थापित नगद ११ हजार १ सय ११ रुपैंया राशीकोे ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान–२०८२’ बाट साहित्यकार एवं लोकगायक बझाङका नन्दकृष्ण जोशीलाई सम्मान गरिने झरनाकी अध्यक्ष रुपाखेतीले जानकारी दिनुभयो ।
महोत्सवमा पुरस्कार समर्पणका साथै चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव लगायतका विविध कार्यक्रम हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*