प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दैसञ्चारकर्मीलाई निर्वाचन आचारसंहिता सम्बन्धी अभिमुखीकरण
१४ माघ, हेटौँडा । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता २०८२ सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालयको आयोजनामा तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेख भएका विषयहरूबारे जानकारी दिनुभयो । उहाँले आचारसंहिता अनुसार कसैको पक्ष वा विपक्षमा सञ्चार माध्यममा मात्रै नभई सामाजिक सञ्जालमा पनि पोस्ट वा शेयर गर्न नहुने स्पष्ट पार्नुभयो ।
निर्वाचन अधिकृत देवेन्द्र आचार्यले आचारसंहिता दण्डात्मकभन्दा सुधारात्मक प्रकृतिको भएको बताउँदै यसको उल्लंघनबारे सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले आचारसंहिताको उद्देश्य डर सिर्जना गर्नु नभई स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्नु रहेको र यसको पालन गर्नु सबै दल, उम्मेदवार, कर्मचारी तथा सञ्चारकर्मीको दायित्व भएको स्पष्ट पार्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आचारसंहिता नैतिक विषयसँग पनि जोडिएको विषय भएको उल्लेख गर्दै, कानुनले नगर्नु भनेको काम नगर्नु नै आचारसंहिताको मूल उद्देश्य भएको बताउनुभयो । उहाँले व्यक्तिको संस्कार र नैतिकता आचारसंहिताको पालनाले झल्किने र सबै नागरिकले यसलाई पालना गर्नुपर्ने बताउनुभयो । सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत आचारसंहिताको लाग्ने बताउनुभयो । पत्रकारलाई निर्वाचनको समयमा स्वतन्त्र रूपमा कार्य गर्न जिल्ला प्रशासनले सुरक्षा व्यवस्था मिलाएको जानकारी उहाँले दिनुभयो । हालसम्म करिब १० वटा उजुरी प्रशासनमा दर्ता भएको उहाँले बताउनुभयो । निर्वाचनको समयमा स्वतन्त्र र निष्पक्ष ढंगले समाचार संकलन गर्न सञ्चारकर्मीहरुलाई प्रशासनले सुरक्षाको पूर्णरुपमा प्रत्याभुति दिलाउने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रजिअ अधिकारीले भयरहित वातावरण निर्वाचन गराउन सञ्चारकर्मीहरुसंग दोहोरो संवादको लागि आफुहरु तयार रहेको उल्लेख गर्नुभयो । उहाँले सञ्चारकर्मीहरुमाथि मतदान अधिकृतबाट गलत व्यवहार नहोस् भन्ने तर्फ प्रशासन र सुरक्षा निकाय सचेत रहेको समेत बताउनुभयो । केही विद्यालयमा चुनावी प्रचार–प्रसार भएको उजुरीसमेत आएको उहाँले उल्लेख गर्नुभयो । प्रशासनबाट सूक्ष्म मूल्यांकनकर्ता खटाइनुका साथै कानुनी रूपमा गठित समिति मार्फत अनुगमन समेत भइरहेको उहाँले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायत जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।













