वातावरणमैत्री तरिकाले चुनावी प्रचारप्रसार गर्न आग्रह

स्वर्णिम खबर
१३ माघ २०८२, सोमबार १७:०२

१२ माघ, हेटौँडा । फागुन २१ गतेको चुनावलाई लक्षित गर्दै सोमबार हेटौंडामा निर्वाचनको तयारी र निर्वाचन आचारसंहिता कार्यान्वयन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृत एवम् निर्वाचन अधिकृत कार्यालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठनहरुले पालना गर्नुपर्ने आचारसंहिता विषयमा छलफल गरिएको हो । कार्यक्रममा बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले निर्वाचन आचारसंहिताको विषयमा प्रस्तुतीकरण राखेका राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आचारसंहितालाई पालना गराउन आयोग देखि प्रशासन कठोर ढंगले अघि बढ्नुपर्ने बताएका छन् । राजनीतिक दलका प्रतिनिधिहरुले पनि निर्वाचन आचारसंहिताको पालनामा आफ्नो दल पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आचारसंहिता कार्यान्वयनको सवालमा दलहरु जिम्मेवार बन्दै गएको बताउनुभयो ।
हरित नगरी हेटौंडामा हरित आचारसंहिताको दलहरुले पूर्ण कार्यान्वयनमा गर्नेमा पनि आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अधिकारीले सरकारी सवारी साधन उम्मेदवारहरुले प्रयोग गरेको पाइए प्रशासन कडा रुपमा प्रस्तुत हुने चेतावनी पनि दिनुभयो । निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटना देखि काल्पनिक घटनाको विषयमा समेत प्रशासनले दिनँहु जस्तो छलफल गरिरहेको उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले निर्वाचन आचारसंहिता विशुद्ध रुपले उम्मेदवारहरुको नैतिकता, आचरण र व्यवहारसंग सम्बन्धित विषय भएको बताउनुभयो । हरित जिल्लामा वातावरणमैत्री तरिकाले चुनावी प्रचारप्रसार गर्न उहाँले आग्रह गर्नुभयो । जात, धर्म, समुदायको नाममा द्वेषपूर्ण अपमान जनक व्यवहार गर्न नहुने उहाँको भनाई छ । मुख्य निवार्चन अधिकृत श्रेष्ठले विषम परिस्थितिमा हुन लागेको चुनावमा आचारसंहिताको विगतको तुलनामा व्यवस्थित तरिकाले परिपालना हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । भ्रामक र मिथ्या प्रचारलाई रोक्नले सबैले आ–आफ्नो तर्फबाट भुमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको थियो भने निर्वाचन क्षेत्र नम्बर २ बाट १६ राजनीतिक दलका उम्मेदवार र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*