सहिद दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम सुरु
१० माघ, हेटौँडा । सहिद दिवस २०८२ को अवसरमा शनिबार देखि हेटौंडामा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
सहिद स्मारक विकास समिति हेटौंडाले शनिबार सहिद स्मारक परिसरमा पत्रकार भेटघाट एवम् कार्यक्रम सार्वजनिक गरी सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो । माघ ११ गते बिहान ७ः३० बजे स्मारक परिसर सरसफाई, माघ १२ गते समितिको १६ औं परिषद् बैठक र सोही दिन सहिद स्मारक र विद्यार्थीबीच अन्र्तक्रिया कार्यक्रम हुने समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघ १३ गते रक्तदान कार्यक्रम, १४ गते प्रथम सहिद लखन थापा वाटिकामा श्रद्धाञ्जली कार्यक्रम र १५ गते ‘सहिदको सपना र नवयुवाको कर्तव्य’ विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने छ । मदन भण्डारी फाउण्डेशन मकवानपुर शाखाको समन्वयमा हुने वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने सचिव खुलालले बताउनुभयो ।
त्यसैगरी सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते बागमती प्रदेश सरकारको समन्वयमा सहित प्रति सलामी, माल्यार्पण, पुष्पार्पण, श्रद्धाञ्जली सभाको साथै श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण हुनेछ । पत्रकार सम्मेलनमा समितिका सदस्यहरु गोपाल श्रेष्ठ, प्रताप विष्ट, व्यवस्थापक रामचन्द्र न्यौपाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो । नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको लागि विभिन्न कालखण्डमा सहादत प्राप्त गर्नुहुने सहिदहरुको स्मृतिमा समितिले हरेक वर्ष सहिद दिवस मनाउँदै आएको छ ।













