प्रतिनिधिसभाको चुनाव लड्न बागमती प्रदेशका ६ जना सांसद्ले राजीनामा दिए
५ माघ, हेटौँडा । बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन् ।
फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न ६ जना सदस्यले राजीनामा बुझाएका हुन् । नेपाली कांग्रेसबाट दोलखा १(क) का कुन्दनराज काफ्ले, नेकपा एमालेबाट काठमाडौँ ७(ख) का प्रकाश श्रेष्ठ र ६(ख) का अमनकुमार मास्के, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ २(क) का सुनिल केसी, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट सिन्धुपाल्चोक २(ख) का युवराज दुलाल र काठमाडौँ ७(क) का बसन्त मानन्धरले राजीनामा दिएको उपसभामुख अप्सरा चापागाईले जानकारी दिनुभयो ।
६ जना प्रदेश सभा सदस्यले सोमबार नै पदबाट राजीनामा दिएको पत्र सचिवालयमा प्राप्त भएको र प्रक्रिया अगाडि बढिसकेको उहाँले बताउनुभयो ।
राजीनामा दिएपश्चात् सञ्चारकर्मीसंग कुराकानी गर्दै काफ्लेले दोलखाका जनताको भावना अनुसार नै संघमा चु्नाव लड्न आफुले राजीनामा दिएको बताउनुभयो । पार्टीबाट टिकट पाउने सुनिश्चित भइ नसकेको बताउँदै उहाँले पार्टी र राष्ट्रको समस्या समाधान गर्न आफु अब्बल रहेको दाबी गर्नुभयो ।
पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका दोलखाका काफ्लेले सोमबार हेटौँडा–१० स्थित प्रदेशसभामै उपस्थित भएर उपसभामुख चापागाईंलाई राजीनामा बुझाउनु भएको हो भने मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभाको जिमेलमा राजीनामा पठाएका हुन ।













