ज्ञानदिप रजत महोत्सव २०८२ मनाउने

स्वर्णिम खबर
६ माघ २०८२, सोमबार १२:२५

५ माघ, हेटौँडा । ज्ञानदिप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदिप शिक्षा निकेतन माध्यमिक विद्यालयले ज्ञानदिप रजत महोत्सव २०८२ मनाउने भएको छ ।
सहकारी एवम् विद्यालयको २५ औं वार्षिकोत्सवको अवसरमा रजत महोत्सव मनाउन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । माघ ८ गतेदेखि १८ गतेसम्म विभिन्न कार्यक्रमहरु गरी महोत्सव मनाइने सहकारीका सचिव लिलानाथ ढुंगेलले जानकारी दिनुभयो । सचिव ढुंगेलका अनुसार माघ ८ गते जिल्ला स्तरीय छात्रा बुद्धिचाल प्रतियोगिता, ९ र १० गते हेटौंडा उपमहानगरपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता, १० गतेनै नगरस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता हुनेछ ।
त्यसैगरी अभिभावक एवम् शेयर सदस्यबीच युगल ब्याडमिन्टन प्रतियोगिता माघ ९ र १० गते, नगरस्तरीय स्थलगत चित्रकला र स्थलगत निबन्ध लेखन प्रतियोगिता माघ ९ गते, माघ ११ गते ज्ञानदिप समुदाय सहयोग कार्यक्रम र १८ गते रक्तदान कार्यक्रम गरिने सचिव ढुंगेलले जानकारी दिनुभयो । त्यसैगरी विद्यालयले माघ ११ गतेदेखि १४ गतेसम्म विद्यालयको प्राङगणमा ज्ञानदिप खेलकुद सप्ताह समेत गर्ने भएको छ । महोत्सवको समुद्घाटन माघ १६ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुहुनेछ भने माघ १७ गते सांस्कृतिक कार्यक्रम र १८ गते समापन समारोह हुनेछ ।
१ हजार ४ सय ९० जना विद्यार्थी अध्ययनरत् यस विद्यालयले रजत महोत्सवको अवसरमा सम्पूर्ण विद्यार्थीलाई ज्ञानदिप रजतबाट सम्मान गरिने समेत सचिव ढुंगेलले बताउनुभयो । कार्यक्रमको अनुमानित खर्च २१ लाख रहेको छ ।
ज्ञानदिप सहकारीका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटा, विद्यालयका प्रिन्सिपल ईश्वर लामिछाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो । सहकारीमा हाल ५ सय ७८ जना शेयर सदस्य रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*