बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा बाल जागृति इङ्लिस स्कुल प्रथम
३ माघ, हेटौँडा । बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा मकवानपुरस्थित बाल जागृति इङ्लिस स्कुल प्रथम भएको छ ।
प्रथम भएसँगै विद्यालयले नगद २५ हजार रुपैयाँसहित पुरस्कृत भएको छ । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भएको प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा चितवनको माडीस्थित माडी माध्यमिक विद्यालय द्वितीय हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ ।
त्यसैगरी भक्तपुरको आदर्श माध्यमिक विद्यालय तृतीय भई १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । सान्त्वना पुरस्कार सिन्धुपाल्चोकको कृष्णरत्न गङ्गा माध्यमिक विद्यालयले हात पारेको छ । उक्त विद्यालयलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको आयोजनामा सम्पन्न प्रदर्शनीमा बागमती प्रदेशका १२ जिल्लाका विद्यालयहरूको सहभागिता रहेको थियो ।
जिल्लास्तरीय प्रतियोगितामा प्रथम भएका विद्यालयहरू प्रदेशस्तरीय प्रदर्शनीमा सहभागी भएका हुन् । यस प्रतियोगितामा दोलखा जिल्लाको सहभागिता भने रहेको थिएन । विद्यार्थीहरूमा नवप्रवर्तनशील सोच, वैज्ञानिक चेतना तथा सिर्जनात्मक क्षमताको विकासमा टेवा पुराउने उद्देश्य ले प्रदेशस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरिएको शिक्षा बिकास निर्देशनालयले जनाएको छ ।














