हेटौंडा बजारको मुहार फेरिने चरणमा छः नगर प्रमुख लामा
३ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले हेटौंडा बजारको मुहार फेरिने चरणमा रहेको बताउनुभएको छ ।
मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको १२ औं वार्षिक साधारणसभा एवम् ५ औं अधिवेशनमा बोल्नुहुँदै उहाँले हेटौंडालाई नयाँ सहरको रुपमा विकास गर्नको लागि उपमहानगरले नयाँ भिजन तयार पारेको बताउनुभयो । सडक विस्तार सम्बन्धी मुद्धा सर्वोच्च अदालतबाट छिनोफानो भएपछि बजारले एउटा नयाँ स्वरुप लिने उहाँले बताउनुभयो । नगर प्रमुख लामाले अटो भिलेज निर्माणको कामलाइ छिट्टै सुरु गरिने बताउनुभयो । सडक विस्तारको क्रममा मारमा परेका स्टिल व्यवसायीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगर प्रतिबद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभयो । नगर प्रमुख लामाले स्टिल व्यवसायीहरुलाई करको दायरमा आएर आफ्नो व्यवसाय गर्न आग्रह गर्नुभयो । अबको निर्माणको समय भएकोले उच्च मनोबल बनाई विश्वासनीय ढंगले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अधिवेशनले संघमा ३ वर्षको लागि रविकृष्ण नकर्मीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गिरीराज न्यौपाने, सचिवमा कविराज पाठक, सहसचिवमा बलराम श्रेष्ठ, कोषाध्यक्षमा राजु जिसी चयन भएका छन् ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका वस्तुगत तर्फका उपाध्यक्ष मोहन कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।













