प्रदेश प्रहरी कार्यालयलाई ३० वटा मोटरसाइकल हस्तान्तरण
१ माघ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल उपलब्ध गराएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सवारीसाधनको विकल्पको स्वरुप प्रदेश सरकारले दुई पाङग्रे सवारीसाधन (मोटरसाइकल) उपलब्ध गराएको हो । सरकारबाट विनियोजित ९७ लाख २० हजार रुपैंया बजेटबाट खरिद गरिएको १६० सिसीका मोटरसाइकल हस्तान्तरण गरिएको हो । बिहिबार हेटौंडा ११ थानाभ¥याङ स्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संयुक्त रुपमा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले समन्वय, सहकार्य र सहअस्तित्वलाई स्वीकार गर्दै प्रहरीलाई मोटरसाइकल उपलब्ध गराएको बताउनुभयो । जेनजी आन्दोलनको क्रममा खस्केको प्रहरीको मनोबल उच्च बनाउन र प्रहरीको सबलीकरणमा बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ । प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले निष्पक्ष ढंगले पारदर्शी भएर काम गर्नुपर्नेमा उहाँको जोड थियो । मुख्यमन्त्री बानियाँले आउँदो फागुन २१ गतेको चुनावलाई प्रभाव र दबाबमा नपरी कुनै दल विशेष नभई प्रहरीले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेशमा जनताले भयरहित ढंगले मतदान गर्ने वातावरण बनाउन प्रहरीलाई आवश्यक सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा आर्थिक मामिला मन्त्री तामाङले प्रहरी समायोजना नहुँदा पनि जनताको सुरक्षाको लागि खटिने सुरक्षाकर्मीलाई प्रदेश सरकारले सहयोग गर्दै आइरहेको बताउनुभयो । प्रदेश प्रहरीले पनि प्रदेश सरकारप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री तामाङले आर्थिक कठिनाईका बाबजुद पनि जेनजी आन्दोलनको क्रममा जलेका कार्यालयहरुको मर्मत सम्भारको लागि बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख पौडेलले प्रदेश प्रहरी कार्यालय अन्तर्गतका इकाईहरुको भौतिक संरचना देखि सवारीसाधन, सिसी क्यामरा व्यवस्थापनमा सरकारले सहयोग गर्दै आइरहेको बताउनुभयो । १ अर्ब भन्दा बढीको लागतमा ७२ वटा प्रहरी कार्यालयको भवन प्रदेश सरकारकै सहयोगमा निर्माण भएको उहाँले जानकारी दिनुभयो । प्रमुख पौडेलका अनुसार अहिले पनि ५–६ वटा कार्यालय भवन निर्माणकै क्रममा रहेका छन् । जेनजी आन्दोलनको क्रममा सवारी साधन जल्दा प्रहरीलाई कार्य सम्पादनमा असर पुगेको उहाँले बताउनुभयो । प्रहरी प्रमुख पौडेलले शान्ति सुव्यवस्थालाई अझ व्यवस्थित गर्न चार पाङ्ग्रे सवारी साधनको पनि आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रहरी प्रमुख पौडेलले ३० वटा मोटरसाइकललाई प्रदेशका अन्तर्गत १० जिल्ला एवम् ट्राफिक कार्यालयमा वितरण गरिने जानकारी दिनुभयो । प्राप्त सवारी साधनबाट प्रहरीको कार्यसम्पादनमा थप प्रभावकारिता आउने र निर्वाचन लक्षित गतिविधि एवम् समाजमा अपराध रोकथाम न्युनिकरण गर्न सहयोग पुग्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सरकार प्रमुख सचिव बाबुराम अधिकारी, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव रामबाबु पुरी, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख सुवासचन्द्र बोहरा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो ।













