गत आर्थिक वर्षमा मात्रै हेटौंडा केन्द्रद्वारा १ सय २ जनाको उद्धार

स्वर्णिम खबर
१ माघ २०८२, बुधबार १७:२३

३० पुस, हेटौँडा । मानवसेवा आश्रम मकवानपुरले गत आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
हेटौंडा स्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । प्रतिवेदनमा गत आर्थिक वर्षको आय–व्यय विवरण, सेवा प्रगति, सेवा विस्तारका प्रयास तथा आगामी वर्षका प्राथमिकता समेटिएका छन् । मुख्य कार्यालय हेटौंडाले स्थापना कालदेखि हालसम्म १ हजार ८ सय ८९ जना सहयोगापेक्षी मानवको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामध्ये १ हजार २ सय ५४ जना पुरुष र ६ सय ३५ जना महिला रहेका छन् ।
आश्रमले हालसम्म ९ सय ५८ जनाको पारिवारिक पुनर्मिलन गराएको अध्यक्ष अधिकारीले बताउनुभयो । आश्रममा आश्रित रहँदा २ सय ८८ जनाको निधन भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ४ सय ६९ जना परामर्शपछि स्वेच्छाले स्वावलम्बी जीवन जिउने प्रतिबद्धतासहित आश्रमबाट बाहिरिएका छन् भने ६८ जना सामुदायिक पुनःस्थापनामा गएका छन् । गत आर्थिक वर्षमा मात्रै हेटौंडा केन्द्रले १ सय २ जनाको उद्धार गरेको जनाएको छ । हाल आश्रममा ४ जना बालबालिकासहित २ सय ४३ जना आश्रित रहेका छन् । तीमध्ये १ सय ६६ जनाले नियमित रूपमा मानसिक रोगसम्बन्धी औषधि सेवन गरिरहेको बताइएको छ ।
मानवसेवा आश्रमका ७ प्रदेशका २१ जिल्लामा सञ्चालित २९ वटा सेवा केन्द्रहरूमा २ हजार २८ जना आश्रित रहेका छन् । देशभर हालसम्म १२ हजार ६ सय ७१ जनाको उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ । ५ हजार दुई सय भन्दा बढीको पारिवारिक मिलन गराइएको अध्यक्ष अधिकारीले बताउनुभयो । सडक पेटी तथा सार्वजनिक स्थलमा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताउन बाध्य भएका मानवहरूलाई खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको प्रबन्ध गर्ने उद्देश्यले २०६९ सालमा मानवसेवा आश्रमको स्थापना गरिएको हो ।
आश्रमले सीमापारीका भारतीय नागरिकहरूको पुनर्मिलन गराउन भारतको श्रद्धा फाउन्डेसनसँग सम्झौता समेत गरेको जनाएको छ । मानवीयता र राष्ट्र निर्माणका लागि आश्रमले तत्काल तथा पाँच वर्षभित्र कार्यान्वयन गरिने गरी योजना तयार पारेको छ । तत्कालका योजनामा उद्धार टोली तयार तथा परिचालन, मेची–महाकाली उद्धार यात्रा, पूर्वाधार विकास, नयाँ शाखा स्थापना तथा सेवा विस्तार, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा रहेका छन् । त्यस्तै, पञ्चवर्षीय योजनाअन्तर्गत उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन, मानसिक स्वास्थ्य पुनःस्थापना केन्द्र, ज्येष्ठ नागरिक सेवा केन्द्र, मानवसेवा अध्ययन केन्द्र, मानवसेवा वृद्धग्राम, मानवसेवा कोसेली घर, पुनःस्थापना केन्द्र, प्राणी सेवा केन्द्र, सेवा विस्तार सेफ हाउस, करुण सेना सञ्चालनलगायत १४ वटा योजना समेटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*