साना एवम् घरेलु उद्योगको सम्बद्र्धन प्रदेश सरकारको प्राथमिकतामाः मन्त्री बादे

स्वर्णिम खबर
२९ पुष २०८२, मंगलवार १६:१६

२९ पुस, हेटौँडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले साना एवम् घरेलु उद्योगको सम्बद्र्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
मकवानपुर महिला उद्यमी व्यवसायी संघको १२ औं वार्षिक साधारणसभा एवम् चौथो अधिवेशनको मंगलबार उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश सरकारले आफनो अधिकार क्षेत्रभित्र रहेर साना एवम् घरेलु उद्योगहरुको विकासको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने बनाउनुभयो । उद्योग सञ्चालनलाई सहज बनाउन कानुनी जटिलताहरुलाई खुुकुलो बनाइने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री बादेले महिला सशक्तिकरणको लागि गर्नुपर्ने समयसापेक्ष कामहरुको विषयमा सरोकारवालाहरुसंग छलफल गरिने उल्लेख गर्नुभयो । सात प्रदेश मध्ये बागमती नेतृत्वदायी प्रदेश रहेको बताउँदै उहाँले मन्त्रालयहरुले गर्ने प्रशिक्षण कार्यक्रमलाई एकीकृत गर्न प्रदेश सिटिईभिटी मार्फत कामहरु गरिरहेको जानकारी गराउनुभयो ।

। महिला उद्यमीहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउन सरकार तयार रहेको समेत उहाँले बताउनुभयो । मन्त्री बादेले महिला उद्यमीहरुको सफलतालाई नै प्रदेश सरकारले आफनो सफलता ठान्ने पनि जिकिर गर्नुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले सडक विस्तारको क्रममा भत्काइएका संरचनाको कारण हेटौंडाका व्यवसायी समस्यामा रहेको बताउनुभयो । सडक विस्तारको क्रममा उद्योग वाणिज्य संघ मौन नबसेको बताउँदै अध्यक्ष रानाभाटले स्थानीय सरकार देखि प्रदेश सरकारसम्म पनि व्यवसायीहरुको कुरा आफुले राखेको दाबी गर्नुभयो । बैकिङ कर्जा तिर्न नसकेका व्यवसायीहरुलाई संरक्षण गर्न राष्ट्र बैंकका गभर्नरसंग पनि छलफल गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संघले बागमती प्रदेशकी मुख्य न्यायधिवक्ता अप्सरा बस्नेत र हिरण्य नेपालका अध्यक्ष एवम् पहिलो महिला फिफा रेफ्री कल्पना शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद्की कार्यकारी निर्देशक शान्ती लामा, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य राजकुमार न्यौपाने, बागमती प्रदेश चेम्बर कर्मशका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, मानव अधिकार संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठ, १० नं. वडा कार्यालयका वडा सदस्य गोमा सुनार, ओम बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । संघमा हाल ८३ जना क्रियाशील सदस्य छन् ।

अधिवेशनले कविता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा वाणिज्य तर्फ अप्सरा मानन्धर र उद्योग तर्फ मनु लामा, सचिवमा निर्मला शर्मा, सहसचिवमा मल्लिका श्रेष्ठ, कोषाध्यक्षमा आशिका श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सोनी गुरुङ, कृष्णमाया श्रेष्ठ, उर्मिला शर्मा बर्तौला, कमला श्रेष्ठ र हरिदेबी श्रेष्ठ रहेका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*