बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न वितरण
२८ पुस, हेटौँडा । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले चुनाव चिह्न पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले सोमबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो । बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त हुन लागेको एक महिला र अन्य एक गरी दुई पदका लागि निर्वाचन हुँदैछ । सोही निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागमती प्रदेशमा रिक्त दुई पदका लागि कुल ६ जनाले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच गठबन्धन रहे पनि उम्मेदवारहरूलाई चुनाव चिह्न भने छुट्टाछुट्टै प्रदान गरिएको छ ।
नेपाली काँग्रेसकी उम्मेदवार गीता देवकोटालाई ‘रुख’ चुनाव चिह्न प्रदान गरिएको छ भने नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद दंगाललाई ‘सूर्य’ चिह्न प्रदान गरिएको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार द्वोय प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झालाई ‘तारा’ चुनाव चिह्न प्रदान गरिएको छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विक्रम ढुकुछु र कविता महर्जनलाई ‘मादल’ चुनाव चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रियसभा निर्वाचन तालिका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ । मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका गंगाकुमारी बेलवासे र बेदुराम भुसालको पदावधि सकिन लागेपछि रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।













