समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पुनर्गठन
२४ पुस, हेटौँडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पुनर्गठन गरेको छ ।
बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले समितिको अध्यक्ष र सदस्यहरु मनोनयन गर्दै समितिलाई पुनर्गठन गरेको हो । सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल र सदस्यहरूमा दिपक केसी र रामेश्वर ढकाललाई मनोनयन गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्रता दिन यस समितिको पुनर्गठन गरिएको प्रवक्ता तामाङले बताउनुभयो । त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालयलाई स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता तामाङका अनुसार स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेमा रहेको कार्यालयलाई भक्तपुरमा स्थानान्तरण गरिएको हो । त्यस्तै, स्वास्थ्य मन्त्रालयकै अर्को प्रस्तावमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित भएको छ ।














