राष्ट्रियसभा सदस्य निर्वाचनः बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी

स्वर्णिम खबर
२३ पुष २०८२, बुधबार १९:०४

२३ पुस, हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशमा रिक्त दुई पदको लागि ६ जनाको उम्मेदवारी परेको छ ।
बुधबार प्रदेश निर्वाचन कार्यालय हेटौैंडामा विभिन्न दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवार दर्ता गराएका हुन । नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछेले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगालले उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसबाट गीता देवकोटाले मनोनयन दर्ता गराउनुभएको छ । नेकपाबाट प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झाले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । बागमती प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेशसभाका ११० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जना गरी कुल ३४८ जना मतदाता रहेका छन् ।
मतभारका हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० गरी जम्मा १० हजार ३ सय ५२ मतभार रहेको छ । राष्ट्रियसभा निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ ।
सो विद्यालयमा दुईवटा मतदान केन्द्र रहनेछन् । निर्वाचन आयोगले माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ । हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगा कुमारी बेलवासे र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनमा सकिन लागेकाले ती रिक्त हुने पदका लागि निर्वाचन हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*