फागुन २१ को चुनावमा उम्मेदवार नबन्ने खतिवडाको घोषणा
२३ पुस, हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।
मकवानपुरको क्षेत्र नं. १ र २ दुबै क्षेत्रबाट सिफारिसमा पर्नुभएका खतिवडाले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी युवा पुस्ताको आन्दोलनको मर्मलाई आत्मसात गर्दै उम्मेदवार नबन्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
नेता खतिवडाले आफु चुनाव नलडे पनि राजनीतिमा भने सक्रिय रहने उल्लेख गर्नुभयो । पार्टीका अन्य उम्मेदवारलाई जिताउन आफु लागि पर्ने उहाँले बताउनुभयो । विगतको चुनावमा ‘नो नट अगेन’ को नारा उठेपनि जेनजी आन्दोलनले पुराना पुस्ताका नेतालाई विश्राम लिन स्पष्ट सन्देश दिएको उहाँको धारणा छ । नेता खतिवडाले चुनावमा टिकट पाउन आफुलाई नेतृत्व तहबाट कुनै समस्या नरहेपनि पार्टीका अन्य नेताहरुलाई मौका दिन सो निर्णय गरेको स्पष्ट पार्नुभयो ।
नेता खतिवडाले पत्रकार सम्मेलनमा आफु सांसद् भएदेखि गरेका कामहरुको विवरण सुनाउनु भएको थियो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा काभ्रेमा लैजान खोजिएको मदन भण्डारी प्राविधिक विश्वविद्यालयको एउटा भाग चित्लाङमा ल्याउन सफल भएको उहाँले दाबी गर्नुभयो । नेता खतिवडाले आफ्नो पालामा सडक पूर्वाधारको क्षेत्रमा पर्याप्त बजेट विनियोजन भएपनि पछिल्लो ३ वर्षयता मकवानपुर विकासको क्षेत्रमा पछि परेको बताउनुभयो ।
नेता खतिवडाले फागुन २१ मा हुने निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच चुनावी गठबन्धन नहुने स्पष्ट पार्नुभयो । प्रजातन्त्रको मुल्य र मान्यतालाई जोगाउन पनि प्रमुख तीन दलले गठबन्धन गर्न नहुने उहाँको धारणा छ । विगतमा कांग्रेस र एमालेको गठबन्धनलाई आफुहरुले विरोध गरेको कारण पनि प्रमुख तीन दलहरुबीच नै गठबन्धन गर्ने पक्षमा आफनो पार्टी नरहेको उहाँले उल्लेख गर्नुभयो । नेता खतिवडाले पछिल्लो राजनीतिक घटनाक्रमले बामपन्थी भन्दा कांग्रेससंग मिल्न सजिलो रहेको स्थिति देखापरेको समेत बताउनुभयो ।
पूर्व स्वास्थ्यमन्त्री खतिवडा राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधिसभाको सदस्यका रूपमा मकवानपुरबाट ६ पटक उम्मेदवार बनेर चार पटक सफलता हात पार्न सफल हुनुभएको थियो । एमाले विभाजित भएपछि तत्कालीन एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बन्न सफल भएका खतिवडा २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा एमालेका नेता महेश बर्तौलासंग पराजित हुनुभएको थियो ।













