मनहरीको विकासको लागि प्रदेश सरकारले बजेट विनियोजन गर्छः मुख्यमन्त्री बानियाँ
२१ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिकाको विकासको लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–२ मा रहेको सीता माध्यमिक विद्यालयको सोमबार स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा उहाँले मनहरी–२ नम्बर वडाको विकासका लागि आवश्यक पूर्वाधार विकासमा पनि प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मनहरी गाउँपालिका २ नम्बर वडास्थित भिमानमा २२ परिवार अत्यन्त विकट क्षेत्रमा बसोबास गरिरहेको भन्दै सुरक्षित र सुविधायुक्त स्थानमा बस्ती स्थानान्तरण गर्नेतर्फ आफूहरुको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थान र बजेटको प्रबन्धको विषयमा गाउँपालिका र प्रदेश सरकारले अध्ययन गर्ने मुख्यमन्त्री बानियाँले प्रतिवद्धता जनाउनुभयो । मनहरी–२ र ३ जोड्ने खोलामा बेलिब्रिजको आवश्यकता रहेको भनी स्थानीयले गुनासो गरेको भन्दै उहाँले सो पुल निर्माणमा प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले शिक्षामा प्राविधिक र रोजगारमुलक शिक्षा आजको आवश्यकता भएको औल्याउनुभएको छ ।
शिक्षालाई प्रविधिसँग जोड्दै आयमुलक बनाउनुपर्नेमा उहाँको जोड थियो । मुख्यमन्त्री बानियाँले माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा स्थापित गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । पढ्दै कमाउँदै गर्नसक्ने शिक्षा प्रदान गराउन प्रदेश सरकारले पनि ध्यान उहाँले बताउनुभयो । शिक्षालाई आधुनिकीकरण गर्दै एआईसँग जोड्दै सक्षम नागरिक उत्पादन गरिनुपर्नेमा मुख्यमन्त्री बानियाँले जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार थिङको अध्यक्षताम भएको स्वर्ण महोत्सव उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, ३ नम्बर वडाध्यक्ष अनन्तप्रकाश अर्याल, १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल, मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, विद्यालय निरीक्षक विदुर थापा, स्थानीय समाजसेवी राम घलान, एकराज पुरी, विद्यालयका संस्थापक अध्यष बौद्धजीत गोङ्बा, निर्मल बहुमुखी क्याम्पस प्रमुख प्रबोध बिडारी, क्याम्पस सञ्चालक समिति अध्यक्ष राजकुमार भेटवाललागयतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकै बीच संस्थापक अध्यक्ष बौद्धजीत गोङ्बालाई सम्मान गरिएको थियो भने पहिलो चेपाङ गायक रविन चेपाङ र कलाकार इमान लामाले गायनमार्फत मनोरञ्जन दिलाएका थिए । तीन दिनसम्म चल्ने स्वर्ण महोत्सवमा विभिन्न कार्यक्रमको आयोजना हुनेछ ।













