जनशक्ति अभावले स्वास्थ्य क्षेत्रमा अपेक्षाकृत प्रगति हुन सकेनः मन्त्री थापा
१७ पुस, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा अपेक्षा गरे अनुसारको प्रगति अझै पनि हुन नसकेको बताउनुभएको छ ।
संघीयता आएपछि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भए पनि स्वास्थ्य क्षेत्रमा भने सोअनुसारको प्रगति हुन नसकेको उहाँले बताउनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित एक वर्षे एनेस्थेसिया टेक्निसियन तालिम कार्यक्रम अन्तर्गत बिहिबार तेस्रो ब्याचलाई स्वागत र दोस्रो ब्याचका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै उहाँले जनशक्ति अभावको कारण स्वास्थ्य क्षेत्रमा अपेक्षाकृति प्रगति हुन नसकेको जिकिर गर्नुभयो ।
पालिका तहमा निर्माण भएका आधारभूत अस्पतालहरू जनशक्ति र उपकरणको कमीका कारण पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । प्रतिष्ठानबाट उत्पादन हुने जनशक्ति पालिकामा रहेका आधारभूत अस्पतालमा उपयोग हुने मन्त्री थापाको विश्वास रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन हुनुपर्ने भए पनि पर्याप्त बजेट छुट्याउन नसकिएको बताउदै उहाँले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले गर्दै आएको योगदानको प्रशंसा गर्दै प्रदेश सरकारले प्रतिष्ठानको स्तरवृद्धि र व्यवस्थापनमा निरन्तर सहयोग गरिरहेको बताउनुभयो । मन्त्रालयको कुल चार अर्ब रुपैयाँ बजेटमध्ये ३७ करोड रुपैयाँ प्रतिष्ठान र हेटौंडा अस्पतालका शैक्षिक गतिविधि सञ्चालन, जनशक्ति व्यवस्थापन तथा भौतिक पूर्वाधार सुधारका लागि विनियोजन गरिएको उहाँले बताउनुभयो ।
हाल भाडाका घरमा छरिएर सञ्चालन भइरहेको प्रतिष्ठानका शैक्षिक गतिविधिलाई एउटै भवनबाट सञ्चालन गर्न प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा प्रि–फ्याब भवन निर्माण गर्न लागेको मन्त्री थापाले जानकारी दिनुभयो । उक्त भवन चार महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ । यस्तै, हेटौंडा अस्पतालको नव–निर्मित भवनका लागि आवश्यक उपकरण खरिद गर्न थप १० करोड रुपैयाँ मन्त्रालयबाट विनियोजन गरिएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञवालीले एक वर्षे एनेस्थेसिया टेक्निसियन तालिमलाई सरकारले कानुनी मान्यता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले तालिम प्राप्त जनशक्तिलाई एकेडेमिक मान्यता दिनुपर्ने बताउँदै मान्यता प्राप्त भए सातै प्रदेशमा कार्यक्रम विस्तार हुने उहाँको भनाइ थियो । एनेस्थेसिया टेक्निसियनलाई वैधानिकता नदिँदा प्रभावकारी कार्यक्रम समेत बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले समयमै निर्णय लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तालिम पुरा गरेका ५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो भने तेस्रो ब्याचमा छनौट भएका ५ जनालाई स्वागत गरिएको हो । तेस्रो ब्याचका लागि एकैपटक १५ जनाले आवेदन दिएकोमा पाँच जना छनोट भएका छन् । छनोट हुनेमा महोत्तरीका सिकेन्द्र कुमार यादव, बाराका पप्पु कुमार, रौतहटका राजेश चन्द्र शाह, कास लामा तामाङ र हेटौंडाकी रोशनी थिङ रहेका छन् ।
त्यसैगरी उमेश कुमार कुशवाह, अजय शाह, जितेन्द्र खत्री, मनोज विष्ट र रुपेश उपाध्यायले तालिम पुरा गरी प्रमाणपत्र प्राप्त गरेका हुन् ।

तालिमको पहिलो ब्याचमा चार जना, दोस्रो ब्याचमा पाँच जना र हाल तेस्रो ब्याचमा पाँच जना प्रशिक्षार्थी रहेका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्र झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष दिनेश कुमार लम्साल, हेटौंडा अस्पतालका रजिष्ट्रार भीमसागर गुरागाईं, अस्पतालका निर्देशक रामचन्द्र सापकोटा, नेपाल चिकित्सक संघ मकवानपुरका अध्यक्ष हरि बहादुर खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।













