तोकिएको समयमा निर्वाचन नभए संसद पुर्नस्थापना हुन्छः मुख्यमन्त्री बानियाँ

स्वर्णिम खबर
१६ पुष २०८२, बुधबार १५:४८

१६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्को पुर्नस्थापनाको सम्भावनालाई नकार्न नसकिने बताउनुभएको छ ।
५० औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री बानियाँले तोकिएको समयमा सरकारले निर्वाचन गर्न नसक्दा संसद् पुर्नस्थापना हुनुपर्ने धारणा राख्नुभयो । संविधान संशोधन गरी जेनजी पुस्ताको मागलाई सम्बोधन गर्न पनि संसद् आवश्यक रहेको उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले अहिलकै प्रक्रियामा निर्वाचन हुँदा जेनजी पुस्ताको माग पुरा हुन नसक्ने पनि बताउनुभयो ।
वर्तमान सरकारको म्याण्डेन्ट चुनावी गराउनु रहेपनि चुनावको वातावरण अझ बन्न नसकेको उहाँले जिकिर गर्नुभयो । लुटिएका हतियार र भागेका कैदीहरु फिर्ता नहुँदा सम्म र लुटपाट, तोडफोडमा संलग्नहरुलाई कारवाही नहुँदा सम्म निर्वाचन हुन नसक्ने उहाँको बुझाई छ ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले राष्ट्रियता र व्यवस्थालाई बचाउन गणतन्त्रवादी दलहरु मिल्नुपर्ने बताउनुभयो । जेनजी पुस्ताको असल मागमाथि खेलेर राष्ट्रियता नै धरापमा पार्ने तत्वहरु विरुद्ध एमाले, कांग्रेस, माओवादी जस्ता गणतन्त्रवादी दलहरु एकजुट हुनुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले गणतन्त्रलाई बलियो बनाउने धर्मलाई दलहरुले बिर्सन नहुने बताउनुभयो । अप्ठ्यारो अवस्थामा रहेको मुलुकलाई निकास दिनु आजको आवश्यकता रहेको उहाँको भनाई छ ।


रवि, बालेन र कुलमानबीचको एकतालाई कटाक्ष गर्दै मुख्यमन्त्री बानियाँले त्यस्ता एकताहरुबाट डराउनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । स्वाभिमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रभित्रको एकता वर्तमान समयको अनिवार्यता भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले वि.पि.ले लिएको मेलमिलाप नीतिको सान्र्दभिकता वर्तमान समयमा बढ्दै गएको बताउनुभयो । कांग्रेस बागमती प्रदेशको सभापति समेत रहनुभएका उहाँले कांग्रेसभित्रको एकतालाई पनि मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा पार्टीभित्र गुट देखिनु स्वाभाविक भएपनि निर्वाचन पछिको परिणामलाई स्वीकार गरेर अघि बढ्नु नै गणतन्त्रको सुन्दर पक्ष भएको उहाँले बताउनुभयो ।


कांंग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेताहरुले वि.पीले लिएको मेलमिलापको नीतिको प्रशंसा गरेका थिए । आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरूले मेलमिलाप दिवस मनाउने गर्छन ।
२०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाइँलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्कनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*