संघीय सरकारको नीतिसंग नबाझिने गरी प्रदेशको जनसंख्या नीति आउँछः मन्त्री थापा
१४ पुस, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश जनसंख्या नीति सार्वजनिक गर्ने बताउनुभएको छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा सोमबार हेटौंडामा भएको राष्ट्रिय जनसंख्या नीति २०८२ को सार्वजनिकीकरण एवम् अभिमुखीकरण कार्यक्रममा मन्त्री थापाले केही समयभित्रै प्रदेशको पनि जनसंख्या नीति सार्वजनिक गर्ने जानकारी दिनुभयो । नीतिको ड्राफट कानुन मन्त्रालयमा पुगिसकेको र संघीय सरकारको नीतिसंग नबाझिने गरी प्रदेशको नीति आउने उहाँले बताउनुभयो । मन्त्री थापाले विकासमा भएको असन्तुलनले बसाईसराईको दर तीव्र गतिले बढेको उल्लेख गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा भएको असन्तुलित विकासले प्रदेशको कतिपय जिल्लाहरु रित्तिदै गएको र कतिपय जिल्लाको जनघनत्व बढ्दै गएको उहाँको भनाई छ । मन्त्री थापाले बसाईसराईको तीव्र बृद्धिद्धरलाई रोक्न तीन वटै तहको सरकारले सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता लागु भएको ८ वर्षको अवधिमा सरकारले शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि युवाहरुको पलायनलाई रोक्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले जनसंख्याको सन्तुलन नमिल्दा सामाजिक संरचनामा पनि असर पर्ने बताउनुभयो । नेपालको जनसंख्याको वर्तमान अवस्था सन्तोषजनक नरहेको उहाँको भनाई छ । प्रजनन दर प्रतिष्थापन तह भन्दा तल हुनु चिन्ताको विषय भएको समेत उहाँले उल्लेख गर्नुभयो । नगर प्रमुख लामाले जनसंख्याको विषयमा गम्भीर भएर बहस गर्नुपर्नेमा जोड दिनुभयो । तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीति उपमहानगरले ल्याउँदा धेरैले हाँसोको विषय बनाइएको पनि उहाँले उल्लेख गर्नुभयो । नगर प्रमुख लामाले कार्यविधि बनाएर उक्त नीतिलाई कार्यान्वयनको चरणमा लैजाने बताउनुभयो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा जनसंख्या व्यवस्थापन महाशाखाका उपसचिव झविन्द्र प्रसाद पाण्डेयले नेपालको जनसंख्या सम्बन्धी अवस्था र मन्त्रालयका सहसचिव हेमराज सुवेदीले राष्ट्रिय जनसंख्या नीति २०८२ को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय जनसंख्या नीति २०७८ अनुसार बागमती प्रदेशमा बसाई सरी आउने ५३ दशमलब ७ र बसाई सरी जाने १० दशमलब ७ प्रतिशत रहेको छ । त्यसैगरी देशभर मातृ मृत्यु अनुपात प्रति १ लाख जीवित जन्ममा १५१ रहेकोमा बागमती प्रदेशमा ९८ रहेको छ त्यसैगरी हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ । त्यस्तै जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ ।













