थाहामा चित्लाङ ‘भ्यू टावर’ बुधबारदेखि सञ्चालन
९ पुस, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–९ मा निर्माण गरिएको चित्लाङ ’भ्यू टावर’ बुधबारदेखि संचालनमा आएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेसँगै ’भ्यू टावर’ संचालनमा आएको हो । मुख्यमन्त्री बाँनियाँले चित्लाङ ’भ्यू टावर’ले थाहा नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउने बताउनुभयो । पर्यटकीय नगरीको पहिचान बनाउन सफल भएको थाहा नगरपालिकाको पर्यटन विकासमा विगतदेखि नै प्रदेश सरकारले सहयोग पु¥याउँदै आएको चर्चा गर्दै उहाँले पर्यटन क्षेत्रका पूर्वाधारहरु निर्माण गर्न सरकारले बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा प्रदेश र स्थानीय तहले सहकार्यको नयाँ नीति लिनु अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई ‘आर्थिक र विकासको साझेदार’ का रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनमा प्रदेश र स्थानीय तहले प्रशासनिक क्षेत्रमा मात्र नभई आर्थिक तथा विकासका काममा सहकार्यको नयाँ नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो प्रदेशले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत बजेट बेहोर्ने गरी विकासका ठुला आयोजनामा साझेदारी गर्न सकिने उहाँको भनाई छ ।
मुख्यमन्त्री बानियाँले विगतमा प्रदेश सरकारले बनाएका कतिपय संरचनाहरू व्यवस्थापनको अभावमा बेवारिसे बनेको र ती संरचनाहरू स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । स्थानीय तहले योजनाको अपनत्व लिउन् भन्ने प्रदेशको चाहना भएको उहाँले उल्लेख गर्नुभयो । भ्युटावरलाई व्यवस्थापन गर्ने जिम्मा थाहा नगरकै भएकोले आवश्यक पर्ने बजेट प्रदेश सरकारले विनियोजन गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले आन्तरिक एव बाह्य पर्यटकहरु आकर्षित गर्न पर्यटन क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो । थाहा नगरपालिकाका मेयर विष्णु विष्टले चित्लाङ ’भ्यू टावर’ले थाहा नगरपालिकामा आन्तरिक एवं बाह्य पर्यटकहरु आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । उक्त ’भ्यू टावर’ संचालन गर्न प्रदेश सरकारले थाहा नगरपालिकालाई गत सातामात्र हस्तान्तरण गरेको थियो ।
भ्यूटावर सञ्चालन तथा व्यवस्थापनका लागि थाहा नगरपालिकासँग पर्यटन विकास आयोजनाले सम्झौता गरेको छ । सम्झौताअनुसार थाहा नगरपालिकाले उक्त भ्यू टावर सञ्चालन, उपयोग तथा व्यवस्थापनका लागि आफै वा अन्य संघसंस्था वा समितिलाई ठेक्कामा लगाउन सक्ने व्यवस्था छ । यसरी सञ्चालन गरिएको टावरबाट भएको आम्दानीको ३० प्रतिशत रकम बागमती प्रदेश सरकारका राजस्व खातामा अर्धवार्षिक रुपमा जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
आम्दानीको ७० प्रतिशत रकम भने थाहा नगरपालिकाको हुने सम्झौता भएको छ । १० बुँदे सम्झौतामा पर्यटन प्रवद्र्धनबाहेकको उद्देश्यमा सो संरचना प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ ।
चित्लाङ भ्यू टावरको मर्मतसंभार गर्नुपर्ने अवस्था भएमा थाहा नगरपालिका समेतको प्रविधिको सहभागितामा तयार गरिएको लागत अनुमानबमोजिम एक पटकका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट गराउने सम्झौतामा उल्लेख छ ।

प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रमअन्तर्गत ’भ्यू टावर’ निर्माण अघि बढाएको थियो । उक्त परियोजनामा ’भ्यू टावर’सँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ । ’भ्यू टावर’ निर्माण पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँमा गरिएको हो । गत मंसिर २४ गते पर्यटन विकास आयोजना हेटौंडा र थाहा नगरपालिकाबीच भ्युटावर सञ्चालन तथा व्यवस्थापनको सम्झौता भएको थियो । सम्झौता अनुसार भ्युटावर थाहा नगरपालिका आफैले वा अन्य सेवा प्रदायक मार्फत सञ्चालन गर्न सक्ने व्यवस्था छ । बागमती प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६–२०७८) अन्तर्गत भ्युटावर निर्माणको काम अघि बढाएको थियो । हिल स्टेशनमा भ्युटावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ ।
यससँगै प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा ’भ्यू टावर’ निर्माण गरिसकेको छ ।
यी ’भ्यू टावर’हरू निर्माणमा प्रदेश सरकारले ३२ करोड ८४ लाख तीन हजार तीन सय ३९ रुपैयाँ लगानी गरेको छ । ११ वटा ’भ्यू टावर’मध्ये ५ वटा संचालनमा आइसकेको पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले बताउनुभयो ।













