उज्यालो पार्टीले हेटौंडा शहर अध्यारो बनाईदियोः मुख्यमन्त्री बानियाँ
७ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले हेटौंडा बजार मानव बिनाको शहर जस्तै भएको बताउनुभएको छ ।
व्यवस्थापन बिना नै सरकारले हेटौंडा बजार भत्काएर प्रेतआत्माको शहर बनाईदिएको उहाँले आरोप लगाउनुभयो । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको बाचनालय र कांग्रेस मकवानपुरका संस्थापक सभापति स्व. सूर्यबहादुर डिमडुङको स्मृतिमा निर्मित तीन कोठे भवनको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले अव्यवस्थित सडक विस्तारका कारण शहर कुरुप बनेको बताउनुभयो ।
उज्यालो नेपाल पार्टीलाई कटाक्ष गर्दै नाम उज्यालो भएको पार्टीले हेटौंडालाई अध्यारो बनाएको उहाँले टिप्पणी गर्नुभयो । मुख्यमन्त्री बानियाँले व्यवस्था चलाउन सरकार कठोर बन्नुपर्ने भएपनि निर्दयी बन्न नहुने बताउनुभयो । हेटौंडा बजारको अवस्था अहिले कहालिलाग्दो भएको बताउँदै उहाँले हेटौंडाबासीलाई समाधान दिन जरुरी रहेको उल्लेख गर्नुभयो । अन्यौलमा रहेको हेटौंडा बजारलाई तीन वटै तहको सरकारले निकास दिनुपर्ने उहाँको भनाई छ ।

मुख्यमन्त्री बानियाँले पछिल्लो समय प्रतिशोधको राजनीति देखापर्न थालेको बताउनुभयो । अप्ठ्यारो परेको बेला संघर्ष गर्ने नेतृत्व नदेखिएको उहाँले जिकिर गर्नुभयो । कांग्रेसमा राजनीतिक धैर्यता कमजोर बन्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले कांग्रेसलाई पुर्नजीवित र पुर्नजागृत गराउनुपर्ने बताउनुभयो । उहाँले अहिले कांग्रेसको नेतृत्व सम्हालिएको समेत जिकिर गर्नुभयो ।
नेपाली कांग्रेस विभाजन हुन्छ भन्ने डर महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै समाप्त भएको उहाँले दाबी गर्नुभयो । कांग्रेस अहिले नियमित अधिवेशन प्रक्रियामा प्रवेश गरिसकेको पनि उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले एकदलीय पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गरेर लोकतन्त्र स्थापना गर्न कांग्रेसको ऐतिहासिक भूमिका रहेको स्मरण गराउनुभयो । प्रजातन्त्र र गणतन्त्र प्राप्तिपछि आज सबैले स्वतन्त्र रूपमा बोल्न पाएको उहाँले उल्लेख गर्नुभयो । गणतन्त्रमा तोडफोड, पार्टी कार्यालय वा व्यक्तिको घर जलाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने मुख्यमन्त्री बानियाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेसलाई मकवानपुरमा चलायमान बनाउन स्व. सूर्यबहादुर डिमडुङको योगदान उल्लेखनीय रहेको बताउनुभयो । सूर्यबहादुरको योगदान केन्द्रीय तहसम्म स्थापित रहेको र कांग्रेसको संगठन विस्तारमा उहाँले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै भवन निर्माण गरिएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताउनुभयो । प्रदेश सरकारबाट प्राप्त केही आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनमा पहिलो तलामा तीन वटा कोठा रहेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुकको उपस्थिति रहेको थियो ।













