कानुन नै बनाएर गाँजा खेतीलाई वैद्यता दिनुपर्छः मुख्यमन्त्री बानियाँ
६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कानुन नै बनाएर गाँजा खेतीलाई वैद्यता दिनुपर्ने बताउनुभएको छ ।
आइतबार कैलाश गाँउपालिका ४ धुसराङका लालकुमार प्रजा र उहाको श्रीमती सानुमाया चेपाङका लागि निर्माण गरिएको घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले माननीयहरुले गाँजाबाट बनेको कोट लगाउन मिल्ने तर गाउँले गाँजा खेती लगाउँदा कारवाही हुनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो । धार्मिक ग्रन्थमा गाँजालाई जडिबुटीको रुपमा उल्लेख गरिएपनि राज्यको कानुनले गाँजालाई लागुऔषध भन्ने गरिएको मुख्यमन्त्री बानियाँले बताउनुभयो ।
जनतालाई गरिखाने बनाउन पनि कानुन बनाएर गाँजा खेतीलाई व्यवसायिक रुपमा अगाडि बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री बानियाँले स्थानीय तहको प्रभावकारी निगरानीमा कानुनी दायरमा ल्याउने गरी गाँजा खेतीलाई जनताको उन्नति र प्रगतिसंग जोड्नुपर्ने बताउनुभयो ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले अति विपन्न समुदायको लागि प्रदेश सरकारले १ हजार घर बनाउने बताउनुभयो । कार्यविधि नै बनाएर गरिब, दलित, सिमान्कृत, चेपाङ लगायत अति विपन्न समुदायको उचित बासस्थानको लागि एक हजार घर बनाउने नीति सरकारको रहेको उहाँको भनाई छ । घरसंगै जिविकोपार्जनको लागि स्थानीय तहसंग समन्वय गरे दुई लाख रुपैयाँसम्म रकम किस्ता बन्दीमा उपलब्ध गराउने योजना अघि बढाएको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार पहिलो चरणमा प्रदेशको १३ जिल्लामा ५०–५० घर बनाएर हस्तान्रण गरिनेछ ।

मुख्यमन्त्री बानियाँले राजनीतिक अवस्था परिवर्तन पछि जनताको अवस्था परिवर्तन गर्न आफुहरुले राजनीति गरेको बताउनुभयो । उहाँले कैलाश गाउँपालिकामा शिक्षा, स्वास्थ्य देखि सडक पूर्वाधारको विकासमा आफु प्रतिबद्ध रहेको दाबी समेत गर्नुभयो । मुख्यमन्त्री बानियाँले जनतालाई दुःख दिनु सरकारको धर्म नभएको बताउनुभयो । जनतालाई गाँस र बाँससंगै गरिखाने बनाउनको लागि सीप र प्रविधि पनि हस्तान्तरण गर्नुपर्ने उहाँको धारणा छ ।
मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवारको घर निर्माण गर्ने घोषणा गर्नुभएका मुख्यमन्त्री बानियाँले प्रजा दम्पत्तीको लागि सुरक्षित आवास निर्माण गरी आइतबार हस्तान्तरण गर्नुभएको हो । यसअघि उहाँले मनहरी गाउँपालिका–९ ज्यामिरेकी विपन्न दलित महिला मिठुमाया सुनारलाई पनि घर हस्तान्तरण गर्नुभएको थियो । करिब ८ लाख रुपैयाँको लागतमा तीन कोठे जस्तापाता र ब्लकको घर तथा शौचालयसमेत निर्माण गरी बिपन्न प्रजा दम्पती लाई हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री बानियाँले आफ्नो सेवा–सुविधा वापतको रकमबाट सुरक्षित आवास निर्माण गर्नुभएको हो । साथै सन्तान विहीन प्रजा दम्पतीको जीविकोपार्जनमा सहयोग पुग्ने गरी २० हजार रुपैयाँ नगदसमेत प्रदान गर्नुभएको छ । लालकुमार प्रजा लामो समयदेखि आफ्नै जग्गामा खरको छानो र काठपातले बेरिएको जीर्ण घरमा बस्दै आउनुभएको थियो । कमजोर आर्थिक अवस्थाका कारण घर मर्मत गर्नसमेत नसक्ने अवस्थाका प्रजा दम्पती घर पाउदा खुशी भएका छ्न ।

प्रजा दम्पती को अवस्थालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाले सुरक्षित आवास निर्माणका लागि मुख्यमन्त्री बानियाँसमक्ष सिफारिस गरेको थियो । कैलाश गाउँपालिकाले लत्ताकपडा, भाँडाकुँडा लगायत आवश्यक सामग्री सहयोग गर्ने पालिका प्रमुख लोक मोक्तानले बताउनु भयो । राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।













