निर्वाचन सर्ने हल्ला भ्रमपूर्णः प्रधानमन्त्री कार्की

स्वर्णिम खबर
५ पुष २०८२, शनिबार ११:२४

५ पुस, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन सरकार दृढ रहेको बताउनुभएको छ ।
सरकारको गठनको सय दिन पूरा भएको अवसरमा भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले चुनाव सर्ने हल्ला भ्रमपूर्ण रहेको र तोकिएकै समयमा भयरहित वातावरणमा निर्वाचन गर्न सरकार दृढ रहेको बताउनुभयो । निर्वाचनका लागि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरेको र सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।
आन्दोलनका क्रममा लुटिएका १ हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि पनि आठ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले शक्तिका आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणमा अनुसन्धान गर्ने निकायले अहिले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाइएको दाबी गर्नुभयो । जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको पनि उहाँले प्रस्ट पार्नुभयो ।
प्रधानमन्त्री कार्कीले एक सय दिनमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभयो । उहाँले मापदण्ड विपरीत खटिएका पाँच सय सुरक्षाकर्मी र सवारीसाधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले समाजलाई छट्पटी र आक्रोशले केही हदसम्म बिथोल्ने प्रयास गरे पनि त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोज्नु जीवन्त लोकतन्त्रको सौन्दर्य भएको बताउनुभयो । उहाँले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष मार्फत काम थालिएको बताउनुभयो ।
यस्तै ‘हेलो सरकार’ मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको, राष्ट्रिय प्रसारण लाइनमा १ सय १ मेगावाट विद्युत थपिएको प्रधानमन्त्री कार्कीले बताउनु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*