वसन्त पराजुलीको बखानमाथि हेटौँडामा बहस

स्वर्णिम खबर
२७ मंसिर २०८२, शुक्रबार १८:४४

२६ मंसिर, हेटौँडा । साहित्यकार एवम् पत्रकार वसन्त पराजुलीको तेस्रो कृति बखानमाथि हेटौँडामा परिचर्चा भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार ऐतिहासिक उपन्यास बखानको विषयबस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो । अग्रज साहित्यकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गर्नुभएको थियो । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताउनुभयो । कुनै विषय र सन्दर्भको भित्री तहसम्म पुग्नका लागि गहिरोसँग व्यक्ति तथा सन्दर्भहरूको प्रयोग गर्ने विशेषता लेखकमा रहेको उहाँले बताउनुभयो ।
चितवनमा बस्ती बसाउन अगुवाइ गर्ने बखानसिंह चितवनमा नेपालकै पहिलो सहकारी बखान ऋण सहकारी संस्था स्थापना गर्ने व्यक्ति हुनुहुन्थ्यो । शाही सेनाको क्याप्टेन पदको जागिर छाडेर राणाविरोधी क्रान्तिमा होमिएका उहाँले क्रान्तिकै क्रममा दुई छोरासमेत गुमाउनुभएको थियो । गुरुङको जीवनका विविध सङ्घर्षमय क्षणहरूको रोचक चित्रणले उपन्यास जीवन्त बनेको समीक्षक निखिलको भनाइ थियो ।
२००७ सालको राणाविरोधी जनक्रान्ति, २०१७ सालमा राजा महेन्द्रले गरेको कु, त्यसपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको विद्रोह, पुलिम राङदेखि बन्दीपुरसम्मका तत्कालीन सन्दर्भ, चितवनमा बस्ती विकासका प्रारम्भिक दिनको कथा कलात्मक रूपमा बुनिएको भन्दै उपन्यास रुचिकर रहेको उहाँको बुझाई छ । उपन्यासमा वर्णनात्मकता र विवरणात्मकता बढी भएका कारण साहित्यिक मिठास भने केही कम भएको महसुस हुने समीक्षक निखिलले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उपन्यास मार्फत उपन्यासकार पराजुलीले आफ्नो जिल्ला चितवन र यहाँ रहेका विशिष्ट स्थान तथा ऐतिहासिक सन्दर्भहरूलाई चिनाउने प्रयास गरेको भन्दै आभार व्यक्त गर्नुभयो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, महासंघ केन्द्रीय सदस्य नारायण अधिकारी, महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, संस्थापक अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*