स्थानीय उत्पादनको वृहत् प्रदर्शनी तथा विशेष छुटसहितको बिक्री मेला
२६ मंसिर, हेटौँडा । उत्पादनमूखी सहकारीका रूपमा अघि बढिरहेको हेटौडा–८ स्थित श्री सर्वोत्तम संचिती सहकारी बचत तथा ऋण सहकारी संस्थाले स्थानीय उत्पादनको वृहत् प्रदर्शनी तथा विशेष छुटसहितको बिक्री मेला आयोजना गरेको छ ।
शनिबारसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशको विकास आत्मनिर्भर सहकारी प्रणाली मार्फत अघि बढ्ने बताउनुभयो । उहाँले बिचौलियाको अन्त्यका लागि सहकारीहरूलाई विना ब्याज सिधै बैंक मार्फत रकम प्रवाह गर्ने व्यवस्था मिलाइने प्रतिवद्धता जनाउनुभयो । मुख्यमन्त्री बानियाँले नमूनाका रुपमा आगामी आर्थिक वर्षमा उत्पादनसँग जोडिएका १३ जिल्लाका १३ वटा सहकारीसँग समन्वय गर्दै प्रदेश सरकारले काम अगाडि बढाउने बताउनुभयो । उत्पादनसँग जोडिएका सहकारीमार्फत नै प्रदेश आत्मनिर्भर बन्न सक्ने उहाँको धारणा थियो ।

शुभम् पार्टी प्यालेसमा आयोजित मेलामा सहकारी, महिला समूह तथा रैथाने परिकार गरी कुल ५० स्टल रहेका छन् । सहकारीका तर्फबाट ४०, महिला समूहका ६ तथा रैथाने परिकारका २ स्टल राखिएको बताइएको छ । प्रदर्शनमा आलस, चामल, बेसार, तेल, दाल, पिठो लगायतका स्थानीय उत्पादनका स्टल रहेका छन् । सहकारीमा आवद्ध महिला समूहले तयार गरेका धूप, हस्तकलाका सामग्रीका पनि स्टल राखिएको छ । सहकारीका अध्यक्ष रामबहादुर बस्नेतले उत्पादन क्षेत्रमा सहकारीको प्रवेशले सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न मेलाको आयोजना गरिएको बताउनुभयो ।
सहकारीले मेरो उत्पादन–म उपभोक्ता सिद्धान्तअनुसार ६४ प्रकारका उपभोग्य वस्तु तथा पशु आहार उत्पादन गर्दै आएको छ । सहकारीमा आवद्ध महिलाहरू एक समूह–एक उत्पादन अभियानअनुसार उत्पादनमूलक कार्यमा सक्रिय रहेका छन् । अहिले ६ महिला समूहले छुट्टाछुट्टै उत्पादन गर्दै आएका छन् ।
सहकारीमा ३ हजार ४६ सदस्य रहेका छन् । मेलासँगै सहकारीको १९औँ वार्षिक साधारणसभा आयोजना गरिएको छ । सभामा अध्यक्ष बस्नेतले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति–कार्यक्रम प्रस्तुत गर्नुभयो । सहकारीको शेयर पूँजी २ करोड ९० लाख ६८ हजार रुपैयाँ रहेको प्रतिवेदनमा जनाइएको छ । सहकारीले सदस्यलाई ६ करोड २२ लाख ५९ हजार रुपैयाँ ऋण लगानी गरेको छ । गत आर्थिक वर्षमा ७४ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ ।













